सबैले ठूलो भाग खोजेपछि गठबन्धन दलबीच भएन सहमति, अब​ एक्ला एक्लै लड्ने

सुर्खेत ।आशन्न वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनमा डोल्पामा गठबन्धन गर्ने विषयमा सत्तारुढ दलहरुबी सहमति हुन सकेको छैन् । सहमति हुन नसक्दा ति दलहरु एक्ला एक्लै चुनाव लड्ने तयारीमा रहेका छन् । चुनावी गठबन्धन र भागबण्डाका लागि छलफलमा बसेका दलहरु आ-आफ्नो अडानमा रहँदा सहमति हुन नसकेको हो ।

केन्द्रीय गठबन्धनको निर्णय र सर्कुलर अनुसार जिल्लामा पनि सत्तासिन दलहरु गठबन्धन गरेर चुनाव लड्ने भने पनि सबैले ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेस डोल्पाका सभापति दिपेन्द्र शाहीले बताए ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (ओवादी केन्द्रले) ठूलो भाग खोजेपछि सहमति नभएको कांग्रेसको आरोप छ । डोल्पाका ठूलीभेरी , त्रिपुरासुन्दरी , उपल्लो डोल्पामा काइके, छार्काताङसोङ, डोल्पोबुद्ध, शे फोक्सुण्डो नेकपा एमालले जितेको थियो । त्यस्तै तल्लो डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिका माओवादी केन्द्रले जितेको थियो ।

केही समय अघि डोल्पोबुद्ध गाउँपालिकाका बहुमत वडाध्यक्ष सहित गाउँपालिकाका अध्यक्षले माओवादी केन्द्रमा प्रवेश गरेपछि माओवादीले स्थानीय तह जित्नेको संख्या बढेको थियो ।

कांग्रेसले कुनै पनि स्थानीय तह जितेको थिएन । अहिले एमालेबाट फुटेर निर्माण भएको समाजबादीले एमालेकै हिस्सा माग्दा सहमति नभएको शाहीले बताए । नेपाली कांग्रेसले कत्तै पनि भाग नपाउने भएपछि सहमति हुन नसकेको कांग्रेसको भनाइ छ ।

प्रदेशमा आफूहरुले एक्ला एक्लै लड्ने सहमति गरेर पत्र पठाएको सभापती शाहीले जानकारी दिए । डोल्पामा समाजवादी बलियो भएकाले माओवादी केन्द्र र नेपाली कांग्रेसले ठूलीभेरीमा प्रमुख दिनु पर्ने र अन्य स्थानीयतहमा समेत केन्द्रीय निर्णय अनुसार पद बाँडफाट हुनुपर्ने समाजवादीका अध्यक्ष नन्दसिंह बुढाले बताए ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रबीच डोल्पामा हुने भनिएको गठबन्धन टुट्ने भएपछि एमालेलाई सहज हुने एमालेका एक नेताले बताए ।

जनमत समेत भएको र २०७४ मा एमालेले जितेका सबै क्षेत्रमा समाजवादीले माग गरेको र जता एमाले बलियो छ त्यहाँ माओबादी केन्द्रलाई दिने र जहाँ एमाले कम्जोर छ त्यहाँ आफू लड्ने समाजवादीको अडानले गर्दा बैठकबाट बाहिरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा डोल्पा जिल्ला ईन्चार्ज रामलाल बिकले जानकारी दिए ।

उनका अनुसार सबै क्षेत्रमा छोडेर बस्न नसक्ने भन्दै गठबन्धनबाट बाहिरिएको र अब स्थानीय तहको निर्वाचनको मिति समेत नजिकिएकोले एक्ला एक्लै लड्नुपर्ने अबस्था आएको उनले बताए । तर यसले गठबन्धन नै टुटी नसकेको र छलफल जारी रहेको उनले बताए ।

स्थानीय तहको निर्वाचनमा कुनै पनि तहमा कुनै पनि पदमा सहमति नभएकोले डोल्पामा गठबन्धन नहुने भन्ने निर्णय केन्द्रीय कार्यालयमा पठाइएको हो । गठबन्धन नहुने भएपछि एमालेले भने उम्मेद्वारमा समेत फेरबदल गर्ने संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस