कांग्रेस सिध्याउने षड्यन्त्र भएपछि कांग्रेस नेता विमलेन्द्र निधि उत्रिय ‘एक्सनमा’

काठमाडौं, वैशाख ७- नेपाली कांग्रेसका नेता एवं पूर्व उपसभापति विमलेन्द्र निधिले मधेशमा नेपाली कांग्रेस सिध्याउने षडयन्त्र भएको आरोप लगाएका छन्।

सत्तारुढ ५ दलीय गठबन्धनले महानगर र उपमहानगरको नेतृत्वबारे गरेको भागबण्डाप्रति लक्षित गर्दै नेता निधिले मधेशमा कांग्रेस सिध्याउने प्रयास भएकोतर्फ सचेत रहन आग्रह गरेका हुन्।

सत्ता गठबन्धनले आज गरेको सहमतिअनुसार मधेश प्रदेशमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख जसपाले पाउने भएको छ । त्यस्तै जनकपुर उपमहानगरपालिकाको नेतृत्व पनि जसपाले पाउने भएको छ।

मधेशका महत्त्वपूर्ण महानगर र उपमहानगरको नेतृत्व सुम्पिनुले कांग्रेसलाई कमजोर बनाउने निधिको भनाई छ। ‘गठबन्धनको नाममा जे निर्णय भयो त्यो आत्मघाती छ। मधेशमा कांग्रेसलाई सिध्याउने षड्यन्त्रअनुसार यो काम भएको छ।

पार्टी निर्णय र कार्यकर्ताको भावना विपरीत गरिएको निर्णय सच्चिएन भने कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ’, निधिले भने। उनले कांग्रेसको आधार भूमिका रूपमा रहेको मधेश प्रदेश जसपालाई जिम्मा लगाउने गरी गठबन्धनले निर्णय गरेको आरोप लगाए ।

‘मधेशमा कांग्रेसलाई कमजोर बनाउने र जसपालाई बलियो बनाउने काम भएको छ।

गठबन्धनको भागबण्डा अराजनीतिक र कांग्रेसविरुद्ध छ’, निधिले भने।

 

प्रतिक्रिया दिनुहोस