एमालेको घोषणा पत्र जोकरको डायलग जस्तै हो : कांग्रेस नेता बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमालेको घोषणा पत्रलाई जोकरको डायलग भनेर टिप्पणी गरेका छन् ।

शनिबार बिहान एउटा एफएम रेडियोसँगको अन्तर्वार्तामा नेता बस्नेतले भने, ‘एमालेको घोषणा पत्र जोकरहरूको डायलग जस्तो हो ।’ एमालेको घोषणा पत्र मनोरञ्जनका लागि ठीक रहेको बताए ।

‘घोषणा पत्रमा आएका कमेन्ट हेर्नुस् न । साधारण आम जनता के भन्छन् ?’, उनको प्रश्न छ । घोषणा पत्रमा गफ मात्रै रहेको नेता बस्नेतले बताएका छन् ।

‘एमालेको घोषपत्रमा अहिले पनि रेल भनेको छ, अहिले पनि पानीजहाज ल्याउने भनेको छ, अहिले पनि ग्यास दिने भनेको छ । त्यो कुरा जनताले पनि पत्याइदिनु पर्‍यो नि’, उनले भनेका छन् ।

नेता बस्नेतले कांग्रेसको घोषणा पत्र यथार्थमा केन्द्रित हुने जनतालाई झुठ नबोल्ने बताएका छन् ।

‘कांग्रेसको घोषणा पत्र जे कुरा हुन सक्छ त्यही कुरा हुन्छ । कांग्रेसले जे कुरा हुन सक्दैन त्यो कुरा गर्दैन’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस