भरतपुरमा रेनुले हार्नु भनेको कांग्रेसले हारेको होः नारायण दाहाल

काठमाडौं, १२ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता नारायणप्रसाद दाहालले भरतपुरमा कांग्रेस वा माओवादी कसैको पनि पकड नभएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले भने, “नेपाली कांग्रेस भनेको शेरबहादुर दाइ हो कि अरु ? राजेश्वर खनाल, उमेश श्रेष्ठ, मिलनबाबु श्रेष्ठ सबै गठबन्धनकै पक्षमा हुनुहुन्छ । पार्टीको जिममेवारी नभएका मानिस चिया पसलमा बढी उफ्रेका छन् । पार्टीले निर्णय गरेपछि सबैले मान्नुपर्छ ।

हाम्रै साथीहरुले पनि वडा छाड्नुहुन्न भनेर विरोध गरेका छन् । केही दिनमा अहिलेका सबै हल्ला सेलाउँछन् । यसमा उत्तेजित हुनुपर्ने कुरा छैन ।”माओवादीले भरतपुरको वडामा किचलो झिकेको भनिँदै छ

नि भन्ने पत्रकार धमलाको प्रश्नमा दाहालले भने, “२९ वटामध्ये हामीले ७ वटा माग्दा किचलो भन्ने ? हामीले १५, १६, वटा दिन्छौ भन्दा उहाँहरुले किन बढी मागेको त ? कांग्रेसमा बहुमत भएको भए हामी किन चाहिन्थ्यो र ? पकड भएको भए यो हालत हुन्थ्यो । ? यहाँ कसैको पकड छैन, कोही कमजोर छैन । अघिल्ला चुनावमा माओवादीले क्षेत्र नं ४ र ५ क्षेत्र सर्लक्कै जितेको होइन र ?”

कांग्रेसभित्र किचलो हुँदा रेनु दाहालले हार्ने सम्भावना हुँदैन भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा दाहालले भने, “चुनाव जित्छु भनेर चुपचाप बस्नुहुँदैन । अब जितियो भनेर घरघरमा बस्ने कुरा होइन । गाह्रो छ है गाह्रो छ भनेर नेता कार्यकर्ता खटाउनुपर्छ । बाहिर चर्चा गरिए अनुसार हार्ने स्थिति छैन । हाम्रो उद्देश्य सकेसम्म बढी मतले जित्ने हो । गठबन्धनले आरामले जित्छ । भरतपुरमा रेनुले हार्ने भनेको कांग्रेसले हार्नु हो । काठमाडौंमा कांग्रेसले हार्ने भनेको भने माओवादी केन्द्रले पनि हार्नु हो ।”

प्रतिक्रिया दिनुहोस