आईजीपी नियुक्ति कानुनसम्मत हुनुपर्ने

काठमाडौं । यति बेला देशका ७ सय ५३ स्थानीय तहमा निर्वाचनको सरगर्मी बढिरहेको छ । यही समयमा सुरक्षाको प्रमुख जिम्मेवारी लिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन हुने भएपछि अहिले दुवै संगठनमा नेतृत्वका लागि तीव्र लबिङ शुरू भएको छ । सशस्त्र प्रहरी बलमा नेतृत्वका लागि अस्वस्थ प्रतिस्पर्धा नभए पनि नेपाल प्रहरीमा भने प्रहरी महानिरीक्षक हुनका लागि तीव्र लबिङ शुरू भएको छ ।

वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री वैशाख १९ गतेबाट अनिवार्य अवकासमा जाने भएपछि नयाँ आईजीपीका लागि अहिले ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक तीव्र लबिङमा लागेका छन् । नेपाल प्रहरीको नयाँ नेतृत्वको स्वाभाविक दाबेदार विश्व पोखरेल भए पनि अन्य तीन जना एआईजीहरूसमेत चलखेलमा लागेका छन् ।

झन्डै १८ महिनाअघि एआईजीमा बढुवा भएका पोखरेललाई पाखा लगाएर अन्य तीन एआईजी सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक आईजीपीको दौडमा रहेका छन् ।पोखरेलभन्दा ६ महिनापछि एआईजीमा बढुवा भएका थापा र हालैमात्र एआईजीमा पदोन्नति भएका सिंह र धानुकले समेत आईजीपीका लागि राजनीतिक नेतृत्वमा लबिङ गरेपछि संगठनभित्र एक प्रकारको नैराश्यता छाएको बहालवाला अधिकृतहरूले बताउन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस