भरतपुरका बागी पौडेलले उम्मेदवारी फिर्ता लिए सांसद बनाउने प्रस्ताव

काठमाडौँ – भरतपुर महानगरपालिका प्रमुखका बागी उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिए राष्ट्रियको सदस्य बनाउने प्रस्ताव कांग्रेसले गरेको छ।

गठबन्धनको तर्फबाट भरतपुरको प्रमुखमा माओवादी केन्द्रकी रेणु दाहालले टिकट पाएपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताका तर्फबाट पूर्ण सांसद पौडेलले सोमबार उम्मेदवारी दिएका थिए।

उनको उम्मेदवारी फिर्ता गराउन कांग्रेस र सत्ता गठबन्धननले हर कोसिस गर्दा पनि दिउँसो २ः३० बजेसम्म संभव देखिएको छैन। उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँड र राज्यमन्त्री उमेश श्रेष्ठ बुधबार चितवन पुगे पनि शुक्रबार मिसन पुरा नगरी फर्किएका छन्।

उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको दूत बनेर भरतपुर पुगेका थिए। पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै देउवाले राष्ट्रियसभाको सदस्य बनाउने प्रस्ताव अघि सारेका छन्।

स्रोतले भन्यो, ‘उहाँले हार्दिकता पूर्वक उम्मेदवारी फिर्ता लिएको अवस्थामा राष्ट्रियसभा सदस्य बनाउन प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ।’

तर पौडेलले चितवनका कांग्रेस कार्यकर्ताको भावनाअनुसार आफूले उम्मेदवारी दिएकाले फिर्ता नलिने अडान व्यक्त गरिरहेका छन्।

उनी राष्ट्रियसभाका पूर्व सांसदसमेत हुन्। सोमबार कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटाको प्रस्ताव र महासमिति सदस्य मीना खरेलको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका थिए।

यता निर्वाचन आयोगले कुनै पनि उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन लागि डर, धाक धम्की, धरपकड र प्रलोभन नदेखाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस