देउवा-प्रचण्डलाई बागीको कडा दनक – म बबुरोले उम्मेदवारी दिँदा भत्किने कस्तो गठबन्धन हो !

भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफू नेपाली कांग्रेसको बागी नभएको बताएका छन् । एक कार्यक्रममा पौडेलले भने “पहिलो कुरा म बागीसागी केही होइन । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा कुनै उम्मेदवारी दिएको छैन । भलै मैले नेपाली कांग्रेसको केन्द्रको लाइसेन्स पाएको छैन । तर मेरो उम्मेदवारी रुख र चार तारे झन्डा विरुद्ध होइन । कांग्रेसका साथीहरुको समर्थनमा उठेको हुँ । त्यसैले उम्मेदवारी फिर्ता लिने कुनै कारण देख्दिनँ ।”

आफूले स्थानीय तहमा उम्मेदवारी दिँदा केन्द्रीय गठबन्धन सरकार नहल्लिने पनि उनले औंल्याए । पौडेलले भने, “भरतपुरमा मेयरका अरु ३२ जना स्वतन्त्र उम्मेदवार छन् । अरुले उम्मेदवारी दिँदा केही नहुने, मैले उम्मेदवारी दिँदा केन्द्रीय गठबन्धन सरकारमा कसरी हलचल हन्छ ? मेरो उम्मेदवारीको गठबन्धनसँग कुनै साइनो छैन । हामीले त्यति कमजोर भएर सोच्नु हुन्न । किनभने त्यसको विधि, पद्धति र प्रक्रियामा म संलग्न छैन ।”

उनले कुनै पनि नेताले आफूलाई गलाउन या फकाउन नसक्ने पनि बताए । पौडेलले भने, “सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादीका अध्यक्ष प्रचण्डलगायत गृहमन्त्री बालकृष्ण खाँड, उमेश श्रेष्ठलाई मैले सहयोग गर्नुस् सके, नसके म बबुरोलाई संवैधानिक हक प्रयोग गर्दा नरोक्नुस् भनेको छु । मैले नागरिक अधिकार प्रयोग गर्न किन नपाउने ? मैले छाड्न मिल्ने, रेणु दाहालले किन नमिल्ने ? उहाँ त बहिनी, छोरी सरहको मान्छे हो । उहाँको समय छ । मलाई छाडिदिए हुन्छ नि । मलाई गलाउने, फकाउने कुरा छैन ।”

प्रतिक्रिया दिनुहोस