पश्चिमा मुलुकको मोडेलबाट नेपालको आर्थिक विकास हुँदैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा मुलुकहरूको मोडेलबाट मुलुकको आर्थिक क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ ।

सम्मानित नेता खनालले आफ्नै मुलुकको आर्थिक स्थितिमा आधारित रहेर मुलुकको आर्थिक विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन जरुरी रहेको बताउनुभयो ।

सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक विकासका लागि कृषि क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी बढाउने गरी बजेट ल्याउन पनि सुझाव दिनुभयो ।

सम्मानित नेता खनालले मुलुकको आर्थिक विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर विकासमा पनि जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतले मुलुकको दिगो आर्थिक विकासका लागि कृषि क्षेत्रको विकासमा जोड दिने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

जलविद्युत्को निर्यात गरी मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा लगानी बढाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा देखिएको आर्थिक समस्या तत्काल हल हुने गरी बजेट ल्याउनुपर्ने जरुरी रहेको बताउनुभयो ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेकाले पनि मुलुकमा आर्थिक समस्या देखिएको भन्दै उहाँले त्यसको समाधान हुने गरी बजेट ल्याउन सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस