राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे राप्रपासँग सहकार्य हुनसक्छ : कमल थापा

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राप्रपाले राजसंस्थाको एजेन्डामा पुनर्विचार गरे आगामी दिनमा राप्रपासँग सहकार्य हुनसक्ने बताउनुभएको छ ।

आइतबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदे अध्यक्ष थापाले यस्तो बताउनु भएको हो ।

कांग्रेस, एमाले, माओवादीसँग त सहकार्य गर्न सक्छौं भने राप्रपासँग किन सहकार्य गर्न नसक्ने भन्दै उहाँले राप्रपालाई सहकार्य र एकताका लागि राजसंस्थालाई हेर्ने दृष्टिकोणमा सुधार गरिनुपर्ने शर्त राख्नुभयो ।

डेढ दशकयता राजसंस्थासहितको प्रजातन्त्रका लागि पहल गरेको अनुभवमा अब नेपालमा राजसंस्था फर्कन सक्ने अवस्था नरहेको थापाले दाबी गर्नुभयो ।

असम्भव एजेन्डा बोकेर जनता र कार्यकर्तालाई भ्रममा राख्न हुँदैन भन्दै उहाँले अहिले हिन्दु, बौद्ध र किराँत धर्मप्रति संगठित रुपमा आतङ्क सिर्जना गरिएको र यो रोक्न नसके धार्मिक द्वन्द्व हुनसक्ने खतरा औंल्याउनुभयो । धार्मिक द्वन्द्व रोक्न पनि नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट घोषणा गरिनुपर्ने उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस