एकीकृत समाजवादीबाट छिट्टै मन्त्री परिवर्तन हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री परिवर्तन हुने बताउनुभएको छ ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी पुग्नुभएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताउनुभयो ।

नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री समक्ष गइसकेको भन्दै छिट्टै मन्त्रिपरिषद् हेरफेर हुने आशा राखेको उहाँले बताउनुभयो । नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले मिलाउन केही समय चाहिएको उहाँको भनाइ छ ।

पार्टीको निर्णय प्रधानमन्त्रीले नमान्ने कुरा कल्पनाभन्दा बाहिरको भएको अध्यक्ष नेपालले बताउनुभयो ।

एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन नागरिक तथा उड्डयन मन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट विरोध खतिवडा, शहरी विकास मन्त्रीबाट रामकुमारी झाँक्री र श्रम तथा रोजगार मन्त्रीबाट कृष्णकुमार श्रेष्ठ मन्त्रिपरिषदमा छन् ।

उनीहरूलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्री र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई नाम पठाएको छ ।

प्रतिक्रिया दिनुहोस