रावलको प्रश्न- देउवा पाँचपटक प्रधानमन्त्री बन्दा राष्ट्रघात र प्रतिगमन भयो, सातौंपटक भए नेपाल रहला ?

काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न लागेको भन्दै संसदमा केही गम्भीर प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आइतवारको बैठकमा मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै एमाले नेता रावलले नेपाललाई तुरुन्त शान्ति क्षेत्र घोषणा गर्न समेत माग गरेका छन् ।

रावलले विभिन्न घटनाक्रमहरूको दृष्टान्त दिँदै नेपालको संविधानविपरीत अमेरिकी सैन्य गठबन्धनमा नेपाललाई सामेल गराउन खोजेको बताए । रावल बोल्दा बोल्दै संसद बैठकमा भित्रिएका प्रधानमन्त्री देउवाले उनको कुरामा हाँस्दै टाउको हल्लाएका थिए । देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघातमात्र भएको भन्दै सातौं पटक प्रधानन्त्री बन्ने हो भने देशै नरहने खतरा रहेको टिप्पणी गरे ।

रावलले भने, ‘उहाँ २०५२ सालमा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वमा गयो । राष्ट्रिय हितविपरीत महाकाली सन्धी भयो । अर्को पटक प्रधानमन्त्री बन्दा देश प्रतिगमनमा गयो । पाँचपटक प्रधानमन्त्री हुँदा त यस्तो भयो भने सातपटक प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ, त्यसो भयो भने त नेपाल नै के हुन्छ भन्न आशंका गर्नुपर्ने भयो ।’

प्रतिक्रिया दिनुहोस