सुनका गहना चोरी गर्न नाबालकको प्रयोग, चोरेर भाग्ने तालिम नै दिने गरेको खुल्यो

काठमाडौं : नाबालक बच्चालाई प्रलोभनमा पारी चोरी कार्यमा संग्लन गराएको अभियोगमा रुपन्देहीका ३६ बर्षीय विजय राय नट पक्राउ परेका छन्। उनीसँगै ११ र १२ वर्षका नाबालक पनि पक्राउ परेका छन्।प्रहरीकाअनुसार गत आइतबार रुपन्देही कञ्चन गाउँपालिका ४ स्थित आइतबारे हाटबजारमा टमाटर किन्ने बेलामा स्थानीय एक ७० बर्षीय महिलाले लगाएको तीन तोला ४० लालको सुनको सिक्री लुटेर चोरी भएको थियो। दुई जना नाबालकले सिक्री लुटेर वेपत्ता भएका थिए।

घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले गरेको थियो।अनुसन्धानका क्रममा नाबालकको प्रयोग गरी सुनका गहना लुट्ने कार्यमा सक्रिय पर्सा पटेवा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाँउपालिका ४ बस्ने ३६ बर्षीय विजय राय नट पक्राउ परेका हुन्। उनीसँग दुई नाबालक पनि पक्राउ परेका छन्।

प्रहरीकाअनुसार घटनाको अनुसन्धानका क्रममा सिक्री लुटेर भागेका नाबालक कञ्चन गाउँपालिका ४ बनकसिया डिहोमा लुकि छिपी हिँडेको अवस्थामा चोरी भएको सुनसहित पक्राउ परेका हुन्। एक महिनाअघि विजयले पर्सा जिल्लाको आफ्नै गाउँघरबाट दुवै नाबालकलाई रुपन्देही ल्याएका थिए।

उनले बच्चाहरुलाई आफैसँग राखी सुनका गहना कसरी चोर्ने र कसरी भाग्ने भनी सिकाएका थिए। भीडभाड हुने ठाउँमा लगेर नाबालकलाई छाडिदिने गरेका थिए। उनीहरुमाथि चोरीसम्बन्धी कसुरमा म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया दिनुहोस