आफ्नो कुरुप नाकलाई सुन्दर बनाउनकै लागि एक आमाले ६ दिनको छोरा बेचेपछि…

एजेन्सी । यो दुनियाँमा आमा भन्दा ठूलो केही छैन । आमा भन्दा प्यारो कोही कसैका लागि छैन । आमाका लागि सन्तानपनि त्यति नै महत्वको शब्द हो ।तर विश्वमा अनेकौँ घटना भइरहेका हुन्छन् । जसले जो कोहीको भावनामा ठेस पुर्याईरहेको छ ।यहाँ एउटा विषय के छ भने, अधिकांश महिलाहरुले अरु भन्दा आफू धेरै सुन्दर हुनुपर्छ÷देखिनुपर्छ भन्ने मानसिकता बोकेकै हुन्छन् ।

उनीहरु आफूलाई सुन्दर देखाउनकै लागि विभिन्न किसिमका मेकअप गर्ने गर्छन् । साथै सुन्दरताकै लागि प्लास्टिक सर्जरीसमेत गर्ने गरेका छन् । यसरी आफू सुन्दर बन्नकै लागि कुनै महिला भने कुन हदसम्म गिर्नसक्छन् भन्ने कुरा दक्षिण रुसको एउटा घटनाले प्रष्ट पारेको छ ।

दक्षिण रुसकी एक आमाले आफूलाई सुन्दर बनाउनकै लागि आफ्नो ६ दिनको नवजात शिशु (छोरा) लाई नै बेचेकी छन् । उक्त महिलाको परिचय भने गोप्य राखिएको बताइएको छ । बच्चा (छोरा) बेचेको पैसाले उक्त महिलाले आफ्नो नाकको शल्यक्रिया गराएकी छन् ।

उक्त महिला (आमा) लाई आफ्नै सन्तान बेचेर आफ्नो सौन्दर्य बढाउन खोजेको आरोपमा दक्षिण रुसबाट पक्राउ गरिएको हो । यो घटना दक्षिण रुसको दागेस्तान क्षेत्रको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त आमा (महिला) ले आफ्नो बच्चालाई ३ हजार पाउण्डमा विक्री गरेकी थिइन् ।

समाचारमा उल्लेख गरिए बमोजिम उक्त शिशु अर्काको घरमा पुग्ने वित्तिकै विरामी भएका थिए । किन्नेहरूले शिशुको मेडिकल रिपोर्ट मागेका थिए, तर उनले दिन अस्वीकार गरेकी थिइन् ।उक्त महिला (आमा) लाई किस्ता–किस्तामा उक्त रकम दिने सम्झौता भएको थियो । उनीहरु (शिशु किन्ने) ले अभियुक्त आमालाई १,३७० पाउण्ड (दोस्रो किस्ता) अर्को महिना दिने सम्झौता गरेका थिए । जसको कारण उनले आफ्नो कुरूप नाकलाई सुन्दर बनाउन सक्थिन् ।

तर, बच्चा किन्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेसँगै उनीहरुले प्रहरीलाई सबै कुरा बेली बिस्तार लगाएपछि घटना बाहिरिएको हो ।न्युज फ्लासको रिपोर्टका अनुसार रुसी संघको अनुसन्धान समितिले एक विज्ञप्तिमा आरोपी आमाविरुद्ध फौजदारी मुद्दा दर्ता गरी यस विषयमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

अनुसन्धानका अनुसार ती महिलाले २५ अप्रिल २०२२ मा बच्चा जन्माएकी थिइन्, भने ३० अप्रिलमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । यही समयमा उनले सन्तान बेचेर पहिलो किस्ताको पैसा लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस