कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे अर्को गठबन्धन बन्ने चेतावनी दिनुभएको छ ।

कांग्रेस शेखर कोइराला पक्षले गठबन्धन गर्दा आफूहरुलाई एक सय टि चाहिने भनिरहँदा दाहालको यस्तो चेतावनी आएको हो ।

माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज ललितपुरको सानेपामा सम्बोधन गर्दै दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताउनुभयो । कांग्रेसभित्र विभिन्न विचार आइरहेको उल्लेख गर्दै उहाँले त्यस्तो परिस्थितिमा के गर्ने भन्ने विकल्पबारे सोच्नुपर्ने बताउनुभयो ।

आगामी चुनावमा वामपन्थी भित्रको पहिलो शक्ति बनाउने गरी लाग्न उहाँले नेता कार्यक्रतालाई निर्देशन दिनुभयो । उहाँले आगामी चुनाव सकिएपछि कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष गर्ने अवस्था आउन सक्ने बताउनुभयो ।

अहिलेको संसदीय प्रणालीबाट मुलुकको रुपान्तरण हुन नसक्ने बताउँदै दाहालले चुनावपछि आन्दोलन गर्ने अवस्था आउन सक्ने तर्क गर्नुभयो । प्रदेशको बैठकमा १३ जिल्लाका अध्यक्षले आ–आफ्नो जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस