राष्ट्रपतिसँग माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताको भेटवार्ता: नागरिकता विधेयकमा सहमतिको प्रयास

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा राष्ट्रिय सहमतिमा जुटाउने प्रयासका सन्दर्भमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुसँग अलगअगल भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारेमा संसद्मा भएका दलहरुलाई साझा धारणा बनाउन पछिल्लो समयमा पहल गर्दै आउनुभएको छ ।

सो क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयक आम जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले इतिहासदेखिकै विषय अध्ययन गरेर राष्ट्रिय धारणा बनाएर विधेयक पारित गर्नुपर्नेमा त्यसो हुन नसकेकाले चिन्ता र चासोसहित आफूले सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता गरेको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीलगायत समसामयिक विषयमा पनि छलफल थियो ।

सो विधेयकमा अङ्गीकृत नागरिकले नारिकता पाउनयोग्य हुने अवधिबारे विवाद उत्पन्न भएको छ । विसं २०७२ को संविधान जारी हुनुअघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले बाबुआमा दुवै नेपाली नागरिक भएका अवस्थामा नागरिकता प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारद्वारा प्रस्तुत नागरिकता विधेयकमा स्वघोषणा, वैवाहिक अङ्गीकृतलगायतका बारेमा दलहरुबीच मतान्तर रहेको छ ।

प्रतिक्रिया दिनुहोस