दुवै हात र एउटा खुट्टा गाएका कृष्ण ओलि र श्रीमती रुपाले जन्माए दोश्रो सन्तान, बधाइको ओइरो (भिडियो सहित)

२१ वर्षका कृष्ण अनि २० वर्षकी रुपा । यी यिनै जोडी हुन् जुन अहिले भाइरल छन् । भाइरलको कारण कृष्णप्रतिको रुपाको प्रेम समर्पण । दुर्घटनामा परेर दुई हात र एक खुट्टा गुमाए । उमेरमै श्रीमान् यस्तो कहालीलाग्दो दुर्घटनामा परे पनि रुपाको कृष्णप्रतिको प्रेमभाव हटेन, थप बढ्यो । यी दुवै जोडीको कथाले धेरैको मन पगाल्यो ।

त्यो कालो दिन २०७५ जेठ २५, रुपा काठमाडौँमा बसेर नर्सिङको तयारी गरिरहेकी थिइन् । कृष्ण पेसाले सिभिल इन्जिनियर । उनी एक कम्पनीमा काम गर्थे । कामको सिलसिलामा उनी दाङ पुगे । उनले पढेको इलेक्ट्रोनिक्ससम्बन्धी नै थियो । उनी मिटर बन्द गरेर काम गरिरहेका थिए, थाहा नपाएर उनका सहकर्मीले मिटर अन गरिदिए । ‘त्यो मेरा लागि कालो दिन हो ।, ‘कृष्ण भन्छन्, ‘जब हात खुट्टा जले त्यो सँगै हामीले बुनेका सपना पनि जले ।’ उनले पुलुक्क रुपातिर हेरे ।

‘के गर्नु त जे हुनु थियो त्यो भएर नै छाड्छ’ रुपाले भनिन्, ‘बितेको कुरालाई किन सम्झिन्छौ र ?’ उनले श्रीमान्को अनुहार हेर्न सकिनन् झ्यालबाट बाहिर हेरिन् । दुर्घटनामा उनको बायाँ हात पूरै जल्यो । बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि करेन्ट लाग्यो । उनी केही बेर बेहोस भएछन् । ब्युझिँदा वरिपरि साथीहरु त थिए तर आत्तिएर एम्बुलेन्स बोलाउने भेउ नै पाएनछन् । कृष्ण आफैँले फोन गरेर एम्बुलेन्स मगाए । दाङमा नजिक उनको उपचार सम्भव हुने अस्पताल थिएन । उनी पुगे भारतको लखनउ ।

दुर्भाग्य, त्यहाँ पुग्दा धेरै ढिला भइसकेको थियो । समयमै पुगेको भए उनको एक हात मात्रै गुम्थ्यो, इन्फेक्सनका कारण उनले दुवै हात र बायाँ खुट्टा पनि गुमाए । काठमाडौँमा बसेर नर्सिङको वृजकोर्ष गरिरहेकी रुपाले कृष्णलाई लखनउ अस्पतालमा पु¥याएको सुनेपछि बोल्नै सकिनछिन् । ‘म त पूरै ब्ल्याङ्क थिए’, रुपाले भनिन्, ‘के गर्ने के नगर्ने भन्ने पत्तो नै पाइनँ । परिवारमा ऋण धन गरेर अस्पताल पुगेँ । जब उसलाई देखेँ झन् बढी माया लागेर आयो । धैर्य गुमाउनु हुन्न भन्ने भयो ।’

१८ दिन लखनउको अस्पतालमा बसेर फर्किएपछि पैसाको अभाव सुरु भयो । उपचार जारी नै थियो । कमाउने व्यक्ति ओच्छ्यान परिसकेका थिए । उनीहरुको अवस्थाबारे शिशिर भण्डारीले भिडियो बनाएर युट्युबमा अपलोड गरिदिए । मनकारी नेपालीले उनलाई उपचार खर्चको जोहो गरिदिए । कृष्ण आफ्नो गुमेको शरीरको अंग कृत्रिम रुपमा भने पनि फर्काउन चाहन्छन् । अहिलेसम्म डेढ करोड जति उठिसकेको छ रे । कति लाग्छ एकिन छैन रे ।

कालो विगत कोट्याएकाले होला कोठाको माहोल केही शान्त भयो । दुवैको अनुहार मलिन । ‘तपाईंहरु दुईबीचको प्रेम सम्बन्धलाई दुनियाँले प्रशंसा गरेका छन् । अब तपार्इंहरुको प्रेमबारे कुरा गरौँ है ?’फोटोपत्रकार कृष्पा श्रेष्ठले माहोल बदल्ने प्रयास गरिन् । ‘कृष्ण पे्रमको कुरा गर्ने हो र ?’ कृष्ण रुपालाई हेर्दै मुस्कुराए । माहोल हल्का बदलियो ।

कृष्ण रुकुममा जन्मिए रुपा काभ्रेमा । जन्मस्थान फरक भए पनि व्यवहार भने दुवैको उस्तै प¥यो । दुवैका बुबाले आमालाई छाडे । आमाले उनीहरुलाई । दुवैले मामाघर बसेर पढ्नु पर्यो । रुपाले मकवानपुरमा रहेको मामाघरमा केही समय बसेर पढिन्, कृष्ण काठमाडौंमा रहेको मामाघरकै हजुरआमासँग बसे । दुवैको भेट जनसेवा माध्यमिक विद्यालय कीर्तिपुरमा भयो । दुवैको कक्षा एउटै भए पनि सेक्सन भने फरक थियो । बिस्तारै दुवै नजिकिँदै थिए । उनीहरु भेट भएको बेला आफ्ना घरपरिवारका कुरा गर्थे । ‘सुरुमा त म अचम्मैमा परेको घरको कथा उही,’ रुपाले भनिन्, ‘आमाबाको अवस्था पनि उही सायद त्यसैले हामीलाई नजिक बनायो ।’

२०७० को अन्तिमतिर उनीहरु घुम्न कीर्तिपुरको डाँडामा गएका थिए । त्यहीँ उनीहरुले जीवन सँगै बिताउने वाचा गरे । रुपाले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढिन् भने कृष्णले सिभिल इन्जिनियर पढे । दुवैको पढाइ मध्यमस्तरको । उमेर किशोर काल मात्र पार गरेको थियो, डेढ वर्षअगाडि रुपाको मामाघरमा विवाहको कुरा चल्यो । उनले सकेसम्म छल्ने कोसिस गरिन् तर सकिनन् । आखिरमा जोसँग मन साटिएको थियो उसैसँग भागिन् र फुटुङमा लुकेर बसे ।

रुपाको घरमा क्रिश्चियन धर्म मान्ने । कृष्णको हिन्दू धर्म । दुवैको जात पनि फरक । जातले त त्यत्ति असर पारेनछ तर रुपाको परिवारले धर्मबारे भने निक्कै कचकच गरेछन् । ‘मैले त भस्मै गाली खाए नि, रुपाले भनिन्, ‘अब केटालाई नि क्रिश्चियन बनाउनु पर्छ भनेका थिए ।’ उता कृष्णलाई भने उनका दाइले सहयोग गरेछन् । दुवैको हिन्दू संस्कारअनुसार विवाह भएछ ।

प्रतिक्रिया दिनुहोस