प्रचण्डले हातमा चक्कु बोकेर त्यसलाई फूल भन्नुभयो : ओली

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ ।

काठमाण्डाैमा आज आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त सरकार बनाउने प्रयास भएको तर प्रधानमन्त्री प्रचण्ड सुरुदेखि नै गठबन्धनबाट भाग्न खोजेको बताउनुभयो । प्रचण्डसँगको सहकार्य लामो समयका लागि हुँदैन भन्ने आफूलाई पहिले नै थाहा भएको दाबी गर्दै ओलीले अहिले धोका दिएको बताउनुभयो ।

यसअघि प्रधानमन्त्री प्रचण्डले एमालेसँग दुई महिनाको सहकार्य धेरै कठिन भएको बताउनुभएको प्रसङ्गमा ओलीले भन्नुभयो, ‘हो, साँच्चै उहाँलाई गाह्रो भएको थियो । किनभने उहाँ हरियो देखेपछि दाम्लो छिनालेर जान खोज्ने । म जान नदिने, उहाँलाई गाह्रो भएको थियो ।’

ओलीले प्रधानमन्त्री प्रचण्ड हातमा चक्कु लिएर बस्ने तर फूल लिएर बसेको छु भन्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयाे, ‘उहाँ हातमा चक्कु लिएर बस्नुभएको थियो । तर मलाई भन्नुभयो– फूल लिएर बसेको छु, तपाईँलाई भ्रम नपरोस् । मैले फूल लिएको हो हातमा । यो चक्कुजस्तो देख्नु भयो होला तपाईँले । भ्रम हो यो । यो चक्कु होइन, फूल हो भन्नुभयो । तपाईँले भनेपछि फूलै हो नि । किन होइन ? भन्दै बसेँ म । तर मेरो आँखाले धोका खाएको थिएन । उहाँ ढाँट्न, छकाउन अप्ठयारो मान्नुहुन्न ।’

प्रतिक्रिया दिनुहोस