पाँचथरबाट मोटरसाइकल चोरेर तेह्रथुममा बेच्ने गिरोह पक्राउ

फिदिम । पाँचथर तथा तेह्रथुम जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्लाका विभिन्न स्थानहरूमा मोटरसाइकल राखेकै स्थानबाट चोरी भएको भन्ने निवेदन परेपछि हराएका मोटरसाइकलहरू खोजी गर्ने क्रममा प्रहरीले मोटरसाइकल चोरी गर्ने, चोरीका मोटरसाइकल खरिद गर्ने, पार्टपुर्जाहरू खोलेर बेच्ने, काटेर स्वरुप परिवर्तन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक ब्रम्हदेव साहले केटिएम दैनिकलाई बताए ।

साहका अनुसार यसरी पक्राउ पर्नेमा तेह्रथुमको आठराई गाउँपालिका-४ बस्ने श्रीप्रसाद तामाङ, शिव कुमार तामाङ, सुरज पुर्वछाने मगर, वासुदेव तामाङ, पबिन ईङनाम रहेका छन् ।

त्यस्तै पक्राउ पर्नेमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-१ घर भई हाल आठराई गाउँपालिका-४ बस्ने एनमान दियाली, इलाम फाकफोकथुम-२ घर भई आठराई गाउँपालिका-४ मा दूध डेरी सञ्चालन गरी बस्ने वर्ष २७ को तारा बस्नेत र पाँचथर फालेलुङ गाउँपालिका वडा न.५ घर भई हाल फिदिम-१ स्थित ग्यारेज सञ्चालन गर्ने वर्ष २८ को बिरेन्द्र राना रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले विभिन्न मितिमा हराएका सात वटा पल्सर मोटरसाइकल बरामद गरेको छ । कुनै मोटरसाइकलको पार्टपुर्जा खोलेर इन्जिन नम्बर कोरेर नबुझिने बनाइएको अवस्थामा बरामद भएका छन् ।

भेटिएका धेरैजसो मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरेको पाइएको छ । साथै फिदिम बजार एरियाबाट माघ २७ गते राती चोरी भएको मे.१० प.९१९१ र प्र.१-०३-००१ प.२७५० नम्बरको मोटरसाइकल खोजतलासको क्रममा बेवारिसे अवस्थामा फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको प्रहरी निरीक्षक साहले बताए ।

पक्राउ परेका व्यक्तिहरूउपर जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस