यस्तो छ दक्षिण भारतीय फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको ‘आइटम डान्स’ (हेर्नुहोस भिडियो)

नेपालमा छायांकन भएको साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक भएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियोमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले बोल्ड अवतारमा कम्मर मर्काएकी छन् । उनलाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् । डान्सिङ थिमको गीतको भिडियोमा उनको आकर्षक नृत्यले ध्यान खिच्छ ।

फिल्म मलयालम भाषामा निर्माण भए पनि गीत भने हिन्दी भाषामा छ । बिजीपालको संगीत, तनिष्क नब्बरको शब्द रहेको गीतमा चर्चित गायिका सुनिधि चौहानको स्वर सुन्न सकिन्छ । गीतको छायांकन काठमाडौंको दरवार स्क्वायरमा भएको पृष्ठभूमिमा देखिने दृश्यहरुले बुझाउँछ । फिल्मको कथालाई पनि जोडिएको गीतमा स्वस्तिमासँगै कोरस डान्सरमा नेपाली युवतीहरु देखिएका छन् ।

राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ लाई नेपालमा पोखरा, काठमाडौं, लुक्ला लगायतका विभिन्न रमणीय स्थानमा खिचिएको छ । केही दिनअघि फिल्मको सार्वजनिक ट्रेलरमा नेपालका दृश्यहरुलाई पर्याप्त स्थान दिइएको थियो । गत वर्ष कोरोना महामारीको समयमा नेपालमा छायांकन भएको फिल्मले भारतबाट नेपाल आएका तीन जना साथीको कथालाई प्रस्तुत गरेको छ ।

हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा रिलिज हुने फिल्ममा नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ । स्वस्तिमा भने आइटम गीतमा मात्र देखिनेछिन् । भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनको मुख्य भूमिका रहेको फिल्मलाई फजल अलीले खिचेका हुन् ।हेर्नुहोस भिडियो

प्रतिक्रिया दिनुहोस