बैंककाे चर्को ब्याजदरविरूद्ध सुदूरपश्चिमका व्यवसायी आन्दोलित

कैलाली । बैंकहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशमा साेमबारदेखि चरणवद्ध आन्दोलन सुरु गरेका छन् ।

व्यवसायीले साेमबारदेखि प्रदेशका सबै जिल्लामा एकै प्रकारको आन्दोलन थालेका हुन् । साेमबारदेखि सुदूरपश्चिमका मुख्य बजारहरु साेमबार बिहान ९ बजेदेखि ११ बजेसम्म बन्द भएका छन् । बैंकहरूले चर्को ब्याजदर लिएको भन्दै उद्योगी व्यवसायीहरूले सुदूरपश्चिम प्रदेशका मुख्य बजारहरु दैनिक रुपमा दुई घण्टा बन्द गरेका हुन् ।

विरोध प्रदर्शनसहित २० गतेसम्म दैनिक दुई घण्टा बजार बन्द गरिने भएको छ । बैंकमा बचत नगर्ने लगायतका आन्दोलन घोषणा गरेको र पहिलो चरणमा बजार बन्द र प्रदर्शनको कार्यक्रम गरिरहेको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिनुभयो ।

उद्योगी व्यवसायीहरूले १८ गते कुनै पनि बैंक तथा वित्तीय संस्थामा ‘नो डिपोजिट’ अर्थात निक्षेप जम्मा नगर्ने भएका छन् । व्यवसायीहरूले फागुनभित्र माग पूरा नभए सशक्त रूपमा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस