खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री

काठमाडौँ-: अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गर्नुभएको छ ।

यही चैत १७ मा अर्थमन्त्रीको सपथ लिएसँगै उहाँ अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंकका गभर्नरदेखि निजी क्षेत्रका प्रतिनिधिसँग छलफल, सुझाव सङ्कलन तथा अन्तक्र्रियामा व्यस्त रहनुभएको छ । एक सातामा देखिएको उहाँको सक्रियता र अभिव्यक्तिले अर्थतन्त्रको सुधार र विकासमा केन्द्रित भएको सरोकारवालाले टिप्पणी गरेका छन् ।

“अर्थतन्त्रमा देखिएका समस्या पहिचान भइसकेका छन्”, अर्थमन्त्री डा महतले भन्नुभयो, “ती समस्या समाधानका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बाटोमा अग्रसर छौँ ।” अर्थतन्त्रलाई लयमा ल्याउने गरी आफूले काम गर्ने र जनतामा आशा जगाउने काम गर्ने उहाँको भनाइ छ ।

निजी क्षेत्रले पनि अर्थतन्त्र बुझेको विज्ञ अर्थमन्त्री अर्थमन्त्रालयको नेतृत्वमा आउँदा आफूहरुले उठाएका माग सम्बोधन हुनेमा विश्वास व्यक्त गरेको छ । अर्थमन्त्री भएलगत्तै गभर्नर, नेपाल उद्योग वाणिज्य महासङ्घ, सेयर लगानीकर्ता, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स एशोसिएसन, राजस्व चुहावट नियन्त्रण समितिलगायत सङ्घसंस्था एवं सरोकारवालासँग परामर्श गरिसक्नुभएको छ । साथै विदेशी दातृ निकाय र विकास साझेदारसँग पनि मुलुकको अर्थतन्त्रको सुधारलगायतका विषयमा महत्वपूर्ण छलफल गर्नुभएको छ ।

उहाँले आम चासो र मागबमोजिम अर्थतन्त्र सुधारका लागि अर्थमन्त्रीले सरोकारवाला निकायसँग निरन्तर छलफल गर्नुभएको छ । उहाँको सक्रियताबाट अर्थतन्त्र सुधारका लागि ठोस पहल हुनेमा निजी क्षेत्रमा आशा पलाएको छ ।

यसअघि गत पुस १० मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा गठित वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले अर्थतन्त्रको सुधार, सुशासन र समृद्धिलाई विशेष प्राथमिकतामा राखेको थियो ।

प्रतिक्रिया दिनुहोस