काठमाडौं सडकमा धुँवा आउनेगरी सेकुवा पोल्न नपाइने

काठमाडौं महानगरपालिकाले सडकमा धुँवा आउनेगरी सेकुवा नपोल्न आग्रह गरेको छ।

महानगरले सिनामंगल, पुतलीसडकलगायत अन्य क्षेत्रमा सेकुवा पोल्दा वा अन्य जुनसुकै कार्य गर्दा सडकमा धुँवा नआउने गरी कार्य गर्न अनुरोध गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

उनका अनुसार अहिले सेकुवा पसलहरूलाई सचेत गराउने काम भइरहेको छ।

‘हामीले अहिले सर्वसाधारणलाई अप्ठ्यारो पर्ने गरी कुनै पनि किसिमको धुँवा आउने कार्य नगर्न अनुरोध गरेका हौं,’ उनले भने, ‘धेरैजसो पसलहरूले भित्र काम गर्ने तर फ्यान राखेर धुँवा बाहिर फाल्ने गरिरहेको हुन्छ। अबदेखि त्यसो गर्न पाइँदैन।’

यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीका अनुसार महानगरले केही समय अगाडि नै सूचना जारी गरी आगो बाल्ने‍ काम नगर्न अनुरोध गरेको बताए।

‘हामीले पहिले नै सूचना जारी गरी आगो बाल्ने काम नगर्न अनुरोध गरेका थियौं,’ उनले भने, ‘हामीले कुनै पनि कुरामा केन्द्रित रहेर यो कुरा गर्न पाइन्छ, यो पाइँदैन भनेर भनेका छैनौं। तर आगो बालेर कुनै पनि कार्य नगर्न सूचना जारी गरेका छौं।’

यस्तै आगो बाल्दा वायु प्रदूषण हुने र दुर्घटना पनि घट्ने हुँदा यसो गरिएको अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस