साथिलाई मरणासन्न हुने गरी कुटपिट गर्ने १३ जना छात्रालाई ज्यान मुद्दा

संगठित रूपमा एकजना बालिकालाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा १३ जना छात्रालाई ज्यान मार्ने उद्योग कसुरमा मुद्दा लागेको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका- ३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत श्रेष्ठ थरकी १४ वर्षीया बालिकालाई मरणासन्न हुने गरी कुटपिट गरेर भिडियो सार्वजनिक गरेको आरोपमा सोही विद्यालयका १३ जना छात्रालाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा लागेको हो ।

आफ्नै विद्यालयमा अध्ययन गर्ने सहपाठीलाई संगठित रूपमा कुटपिट गरेर भिडियोसमेत बनाएको आरोपमा प्रहरीले १३ जना छात्रालाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा अदालतमा मुद्दा दर्ता गराएर अनुसन्धान सुरु गरिरहेको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी रञ्जन दाहालले जानकारी दिए।

६ वैशाखमा छात्राहरूको समूहले दिउँसो आफ्नै सहपाठीलाई मरणासन्न हुने गरी कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही भिडियोको आधारमा प्रहरीले ११ वैशाखमा १३ जना छात्रालाई पक्राउ गरेको हो ।

कुटपिटमा परेकी छात्राको झापा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिट गर्नुको कारण भने प्रहरीले बाहिर ल्याएको छैन । यद्यपि, प्रेमको विषयमा भएको विवादले उग्र रप लिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस