हत्यापछि निराका गहना पनि लुटेर भागेका थिए विनाेद, झापाबाट काठमाडाैं ल्याइँदै

काठमाडौंको कपनमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्माको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले विश्वकर्मालाई झापाबाटै पक्राउ गरेर काठमाडौं ल्याइरहेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार निराको हत्यामा विश्वकर्माको संलग्नता पुष्टि हुने बलियो प्रमाण फेला परेको छ । एक प्रहरी अधिकारीले भने, ‘घटनामा विनोदको संलग्नता रहेको निष्कर्षमा हामी पुगेका छौँ । मृतकबाट लुटिएका सुनका गहना उसले बालाजुकाे सुन पसलमा बेचेकाे रहेछ ।’

हत्यापछि गहना बेचेका विनाेद झापामा लुकेर बसिरहेका थिए । उनी ठमेलकाे एक नाइट क्लबका बाउन्सर रहेकाे खुलेकाे छ ।

८ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो ।

उनले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।

निराका श्रीमान्‌ योगेन्द्र आचार्यले पनि कपननजिकै घरायसी इलेक्ट्रोनिक सामानहरूको पसल सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस