पूर्व गृहमन्त्री बादलका सल्लाहकार डा. ईन्द्रजीत राई पक्राउ

बैशाख १९ काठमाण्डौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरस्थित थेचोबाट पक्राउ गरेको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गर्नमा मुख्य भूमिका उनकै रहेको प्रहरीको आरोप छ। रामबहादुर थापा गृहमन्त्री हुँदा राई उनका सुरक्षा सल्लाहकार थिए।

एमाले उपाध्यक्ष बादल गृहमन्त्री रहँदा उनी २०७४ फागुनदेखि २०७८ असारसम्म सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए। यसअघि पक्राउ परेका व्यक्तिको बयानका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

राईले गृह मन्त्रालयमा हुँदा नीतिगत निर्णय गराउनेदेखि नक्कली शरणार्थी बनाएर ५० लाख रुपैयाँसम्म असुल्न बाटो खुलेको हो। पीडितबाट रकम असुल्ने व्यक्तिले राईलाई रकम बुझाएको समेत बयान दिएका छन्।

यसअघि यही घटनामा एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्व स्वकीय सचिव केशव दुलालसहित सागर थुलुङ, टंक गुरुङ र सन्देश शर्मालाई प्रहरीले पक्राउ गरेको थियो।

बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरज र टोपबहादुर रायमाझीका छोरा सन्दीपको नाम समेत यो प्रकरणमा जोडिएको छ। उनीहरुलाई प्रहरीले पक्राउ गरीसकेको छैन । नक्कली शरणार्थी बनाएर अमेरीका पठाउने भन्दै यो गिरोहले संयौ मानिसबाट ठूलो रकम असुलेको थियो ।

प्रतिक्रिया दिनुहोस