टोपबहादुर रायमाझीबारे ओलीले भने : बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने मान्छे होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

बिहीबार दुई नेताबीच सिंहदरबारमा भएको भेटमा आफूले रायमाझी बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको व्यक्ति नभएको र षड्यन्त्रपूर्वक पक्राउ गर्ने कोशिस भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएका छन् ।

एउटा सांसद, पटक पटक मन्त्री भइसकेको, उपप्रधानमन्त्री भइसकेको व्यक्ति, षड्यन्त्रपूर्वक ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने खालको … रहस्यपूर्ण छ’ प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले भने, ‘अहिलेको सिटिङ एमपी कहिँ भागेर जाने होइन ।’

ओलीले पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग कुरा गरेर जानकारी लिएको बताएका छन् । ‘मैले कुरा गरेको थिएँ, पक्राउ पुर्जीबारे जानकारी छ भनेको थिएँ, उहाँले भर्खरै आईजी (प्रहरी महानिरीक्षक)सँग कुरा गरेको थिएँ, त्यस्तो होइन, तर कुरा के हो स्पष्ट पारिदिनुपर्ला भन्नुभएको छ, म काठमाडौं आउँदैछु भन्नुभएको थियो’ ओलीले भने ।

यस विषयमा प्रधानमन्त्रीसँग छलफल भयो भन्ने पत्रकारहरुको प्रश्नमा ओलीले भने, ‘मैले प्रधानमन्त्रीजीको ध्यानाकर्षण गराएको छु ।’ओलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको घटनामा निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने बताए । ‘निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन, दोषी उम्काउन हाम्रो प्रयास हुदैन, निर्दोष फसाउन खोजियो भने हामी सहदैनौं’ उनले भने ।

उनले अहिले एमाले नेताहरु यसमा तानिएको हो वा तनाएको हो भन्नेबारे अध्ययन भइरहेको पनि बताए । ‘तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौं । अध्ययन गरेपछि हामी बोल्छौं’ ओलीले भने ।तेस्रो देश पुनर्बास कार्यक्रमबाट बाँकी रहेका भुटानी शरणार्थी समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले पहल गरेको भन्दै ओलीले त्यस विषयमा अन्तर्राष्ट्रिय समुदायसँग छलफल गरेको पनि बताए ।

त्यतिबेला भुटानसँग कुरा गरेर उतै पठाउने, तेस्रो देश पुनर्बास गराउने वा नेपालमै बसोबासको व्यवस्था मिलाउने भन्ने विकल्पमा छलफल भएको उनले बताए ।त्यसको स्टडी गर्ने कुरा भएको थियो, अलि पछाडि सुन्नमा आयो नक्कली शरणार्थी खडा गर्ने कोशिस हुँदैछ रे । मैले गृहमन्त्रीलाई बोलाएर भनेको थिएँ यस्तै सुन्दैछु भनेर । अनुसन्धान विभागलाई पनि राम्ररी खोजीनीति गर्नु भनेको थिएँ’ ओलीले भने ।

अहिले ४ वर्षअघि चेक काटेको र उक्त चेक जसले काटेको उसैसँग रहेको जस्ता घटना सार्वजनिक भएको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस