विवाह र विवादपछि सोविताः सबै कुरा नोट गरेर बसेकी छु, कमेन्ट गर्ने कसैलाई पनि छोड्दिनँ

स्वतन्त्र पार्टीकी केन्द्रीय तथा प्रतिनिधिसभा सदस्य सोविता गौतमले विवाहपछि आफू र आफ्नो परिवारविरूद्ध प्रमाणविना नकारात्मक कमेन्ट् गर्ने कसैलाई पनि नछाेडने बताएकी छिन्।

व्यवसायी गृहेन्द्र घिमिरेसँग जेठ ७ गते विवाह गरेकी सोविताले आफ्नो विवाहपछि केही मिडिया र व्यक्तिहरूले भ्रम फैलाएको आरोप लगाउँदै ती सबैलाई कानुनी दायरामा ल्याउने बताइन्।

विवाहपश्चात जापान पुगेर फर्किएपछि काठमाडाैँमा एउटा पाेडकास्टसँग कुराकानी गर्दैजाँदा सोविताले आफ्नो विवाहबारे फैलाइएका नकारात्मक कुराले आफू र आफ्नो परिवारको मन भाँचिएको र सबैलाई कारबाहीको दायरामा ल्याउने बनाइन्।

यस्तो छ सोविता गौतमले पाेडकास्टलाई दिएको अभिव्यक्तिको अंशः

आफ्नो जीवन हो, त्यो। अकाट्य सत्य हो, मेरो जीवनमा जे छ त्यो वास्तविकतामा छ भने त्यो अकाट्य सत्य हो। सबै मान्छेले थाहा पाएर पनि केही हुँदैन, नथाहा पाएर केही पनि हुँदैन क्या… किनभने त्यो सत्य चिज हो।

तर समाजलाई हेरेर यो समाजले भनम् आफ्नो केही कुराहरूले समाजलाई हुनत केही पनि असर पार्ने त हुँदैन तैपनि कस्तो छ भनेर देखिरहेको हुन्छ नि किन यो नकारात्मक ऊर्जा आफूले लिने भनेर प्राइभेट लाइफ चाहिँ पब्लिकमा ल्याएर आउन मन लाग्दैन क्या।

मेरो विचार कसैको डिस्कसनको टपिक् बनोस् तर मेरो व्यक्तिगत जीवन चाहिँ मान्छेको डिस्कसनको टपिकको विषय नबनोस् जस्ताे भन्ने लाग्छ मलाई। आज मात्र होइन पहिलैदेखि मैले यहीँ नै सोच्थेँ। प्राय: मेरा धेरै जना साथीहरूलाई थाहा छैन, म को हुँ ? के हुँ ? कस्तो हो ? धेरै जनालाई थाहा छैन। मलाई भन्न पनि मन लाग्दैन किनभने मेरो व्यक्तिगत जीवन मेरो हो नि त।

न्यूजमा कति धेरै कुराहरू आएका छन्, त्यसमध्ये केही कुरा पनि साँचो छैनन्, अनुमान गरेर लेखिएका छन्। मलाई स्पष्टिकरण दिनुपर्छ जस्तो पनि लाग्दैन किनभने मेरो व्यक्तिगत जीवन मेरो हो। तर, यो घटना सबै म जापान भएको बेलामा आयो। अनि, मान्छेलाई मेरो बारेमा मलाई कमजोर बनाउनलाई अनेक मान्छेका रिस हुन्छ नि, उनीहरूको उद्देश्य को हो ?

थाहा छैन तर मान्छेका अनेक प्रकारका उद्देश्य हुन्छ। टिकाटिप्पणी सुरु भयो, म मात्रै होइन नि त मेरो बुबाआमा, मेरो घर परिवार सबै छ नि त। अस्ती भर्खर छोरीलाई बिहे गरेर पठाएको छ। आज भर्खर यस्तो खालको कमेन्टहरू आउँदाखेरि मेरो बुबाआमाको मन कति रोएको होला ?

मलाई त्याे सम्झिएर पीडा भयो के खास। त्यो ज–जल्ले कमेन्ट गरेका छन्, ज–जसले लेखेका छन् उनीहरूले उनीहरूको लागि थाहा छैन के हो ? दुई रूपैयाँ बढी कमाइ हुन्छ भन्ने हो अथवा अँ… यसलाई मैले तल झारेँ भन्ने हो के हो मलाई थाहा छैन।

उहाँहरूको आफ्नो त्यो घमण्ड पूरा होस्, भए होला, उहाँहरूको इगो पूरा भयो होला तर त्यो कुराले मेरो आमालाई, मेरो बुबालाई, मेरो भाइलाई कति असर परेको होला ? त्यो कसैले इमाजिन गर्न सक्दैन। कति गाह्रो भइरहेको होला ?

म त राजनीतिमा छु, सबै कुरा सहन्छु, देश बनाउँछु, जेसुकै होस् बनाउँछु, आफ्नो गन्तव्यबाट टाढा हुँदिनँ भनेर आएको मान्छे यो त्रिटिसिजमले त्यति धेरै फरक नपर्ला। सबै कुरालाई स्वीकार्नको लागि तयार भएर आएको छु। मेरो बुबाआमा त्यो कुराले तयार नभएको हुन सक्नुहुन्छ नि त। मेरो बुबाआमाको के गल्ती छ र ?

आफ्नो छोरी सांसद भएको एउटा तिरो तिर्नु पर्ने हो र मेरो बुबाआमाले यो ? त्यो ज–जसले लेखेका छन् तिनीहरूका चाहिँ बाउआमा छैनन् होला ? मेरो आमाको हृदय जति भाँचियो मैले तिनीहरूलाई क्षमा गर्न सकुँला तर मेरो जीवनबारे हाइलाइटमा लेर,

नभएका कथाहरूले जे–जे लेखेका छन् मेरो आमाको मन रोएको छ। म तिनीहरूलाई क्षमा गर्न सकुँला ? यो उथलपुथलले जे भयो नि त्यो म सोच्न पनि सक्दिनँ के। मेरो आमाको मन कति भाँचिएको छ भन्ने त मान्छेहरूले बिर्सिए होलान्। म प्रतिनिधिसभा सदस्यसँगै म अधिवक्ता पनि हो, नेपालमा कानुन पनि छ मान्छेलाई जे मन लाग्यो त्यो बोल्न पाइँदैन। जे मन लाग्यो त्यो लेख्नु भन्न पाइँदैन…

म जापानमा हुँदा मेरो बुबाले भन्नुभयो, ‘यो कुराले तेरो आमाले कति पिर गरेकी छ, मलाई थाहा छैन ऊ मरी भने के हुन्छ’ यो लेबलसम्म पुर्‍याउने यो समाजलाई मैले सबै नोट डाउनलोड गरेको छु, म एउटा पनि छोड्दिनँ, एउटा कमेन्ट पनि छोड्दिनँ, एउटा भिडियो पनि छोड्दिनँ यो देशमा कानुन छ र गर्नु पनि पर्छ।अरू त मेरो केही पनि छैन।

त्यो कुराले म कमजोर भको छैन यदि म गलत छु भने कानुनको दायराभित्र म पनि जानुपर्छ तर म सही छु भने यो समाजालाई सत्य पनि के हो भन्ने कुरा थाहा नभईकन एउटा मिडियाले लेखेको भरमा जे पनि बोल्न पाउने छुट पनि छैन।

ठ्याक्कै भयो के भन्दा न्युज आयो, न्युज आएपछि १५/२० जना मान्छेले नेगेटिभ कुरा लेखे। त्यो १५/२० जनाले लेखेको कुरा सय जनाले शेयर गरे। त्यो सय जनाले शेयर गरेपछि त्यो पुग्यो ३०औँ ५०औँ हजारसँग अनि त्यही कुरा सत्य भएर स्थापित भयो क्या।

तर, यो ३०औँ ५०औँ हजार जना मान्छे नै इङ्गेज छन्, आफ्नो ओपिनियनहरू दिएका छन् न्युजको आधारमा। म त बोलेको नै छैन। न्युजको आधारमा मसँग नसोधिकन, मैले सत्य के हो पनि नभनिकन मान्छेले यति धेरै चरित्र हत्या गरेका छन् सबै कानुको दायारभित्र आउनुपर्छ। म यो कुरामा एकदम फोकस छु।

प्रतिक्रिया दिनुहोस