‘आदिपुरुष’को विवादित अंश नहटाएसम्म सबै भारतीय फिल्म रोकौं: मेयर बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेख्दै मेयर शाहले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। उक्त फिल्म यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने पत्रमा उल्लेख छ ।

“काठमाडौं महानगरपालिका क्षेत्रभित्र राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्रै देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतसँग कूटनीतिक पहल गरी उक्त चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन अनुरोध गरिन्छ । साथै उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गराउने व्यवस्था गर्नसमेत अनुरोध गरिन्छ ।” पत्रमा भनिएकाे छ

प्रतिक्रिया दिनुहोस