नेपाल विद्यालय कर्मचारी परिषद्‍ले सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने

काठमाडौं, २ असार । नेपाल विद्यालय कर्मचारी परिषद्‍ले सामुदायिक विद्यालय अनिश्चितकालीन बन्द गर्ने भएको छ। परिषद्ले भोलि(असार ३ गते)देखि विद्यालय अनिश्चितकालका लागि बन्द गर्न लागेको हो।

विद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले गत शुक्रबार नै ७७ वटै जिल्ला कार्यसमिति र ७ सय ५३ स्थानीय पालिका कार्यसमितिलाई पत्राचार गरेको जानकारी दिएका छन्।

परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको विभिन्न सेवा सुविधासहित पेशागत स्थायित्वको माग राख्दै केही समयदेखि आन्दोलन गर्दै आइरहेको छ।

आन्दोलनकारी शिक्षकका अनुसार पहिलो र दोस्रो चरणका कार्यक्रमहरू सम्पन्न भइसक्दासमेत आफ्नो मागप्रति सरकार गम्भीर नभएको तथा आन्दोलनका क्रममा उल्टै प्रहरी दमन गरेपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार असार ३ गतेदेखि सामुदायिक विद्यालय बन्द गराउन लागिएको हो।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको सेवा सुविधाका विषय सम्बोधन गरेपनि बजेट वक्तव्यमा भने उक्त विषय छुटाएपछि परिषद् आन्दोलनमा उत्रिएको हो।

प्रतिक्रिया दिनुहोस