म ठूला कुरामा मात्रै बोल्छु, साना कुरामा बोल्न भ्याउँदिनँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरुलाई एकैपटक जेलमा कोच्नु नै आफ्नो पार्टीको विचार भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी पंक्ति अब देशमा गन्न नसकिने रुपमा अघि बढिसकेको बताए । आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरुलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु रहेको उनले बताए ।

पार्टीलाई दुईतिहाइमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पार्दै उनले आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको जिकिर गरे । साना कुराहरुमा पार्टीका अन्य नेताहरु बोल्ने उनले बताए ।

सभापति लामिछानेले जनताले आफ्नो पार्टीबाट चाहेको पहिलो काम भ्रष्टाचार नियन्त्रण रहेकाले आफूहरु त्यो लक्ष्य प्राप्तिका लागि लडिरहने बताए । आफ्नो पार्टीमा संलग्न भ्रष्टाचारीहरुलाई पार्टीबाट निस्कासित गरी उनीहरुले जितेका निर्वाचन क्षेत्रमा निर्वाचन गर्ने व्यवस्था गर्न उनले अन्य दलहरुलाई चुनौती पनि दिए ।

प्रतिक्रिया दिनुहोस