जब उदयपुर सिमेन्ट उद्योगमा भूत मन्साइयो

कुर्तामा सजिएकी महिला ती महिला सिमेन्ट उद्योगको मुख्य मेसिनतर्फ अघि बढ्छिन् । उद्योगमा एक दर्जन हाराहारी कर्मचारी र उद्योगको आवासमा बस्ने तिनका परिवारका सदस्यहरु उनको पछिपछि हुन्छन् ।

काठमाडौं । भूतप्रेत पिसाच मन्साउने अन्धविश्वास दूरदराजका गाउँघरमा पनि कम भइसक्यो । तर, पूर्ण सरकारी लगानीको उदयपुर सिमेन्ट उद्योगमा भने मंगलबार यस्तो अनौठो दृश्य देखियो । मंगलबार बिहानको ७ बजे उदयपुर सिमेन्ट उद्योगको कर्मचारी आवास परिसरबाट एक महिला निस्किन्छिन् । उनको दायाँ हातमा त्रिशुल, बायाँ हातमा खुकुरी र निधारमा जरीको झिलमिले टालो थियो ।

रातो कुर्तामा सजिएकी महिला ती महिला सिमेन्ट उद्योगको मुख्य मेसिनतर्फ अघि बढ्छिन् । उद्योगमा एक दर्जन हाराहारी कर्मचारी र उद्योगको आवासमा बस्ने तिनका परिवारका सदस्यहरु उनको पछिपछि हुन्छन् ।

एक जनाले लाउड स्पिकरमा पञ्चे बाजाको संगीत बजाउँछन् । माताले सिमेन्ट उद्योगको मेशिनसँगै रहेको मन्दिरमा भट्याउँदै श्लोक पढ्छिन् । अघि पछि हुनेहरु कतिपयले जय भन्छन् केहीले श्लोक नै भट्याँछन् । अघि–पछि हुनेहरुको आजको मूख्य आर्कषण उनै माता रहेको देखिन्छिन् ।

मंगलबार भूत मन्साउने माता बन्ने चाहिँ हेमा कार्की हुन्– सिमेन्ट उद्योगका सुरक्षा गार्ड रत्नबहादुर कार्कीकी श्रीमती । उनी श्रीमान्सँगै उद्योगकै आवासमा बस्छिन् । आफूलाई माता चढेको र माताले उद्योगलाई संकटबाट बचाउन भूत मन्साउनुपर्ने भनेकाले त्यसो गरिएको दाबी उनको छ । उनले अनलाईखबरसँग भनिन्, ‘भूत नमन्साउने र मलाई सम्मान नगर्ने हो भने उद्योग बन्द हुन्छ भनेर माताले पटकपटक भन्दा पनि कसैले सुनेनन्, उद्योगले धेरै दुःख पायो । अहिले भने बल्ल कुरा बुझे र माताको पूजा आजा र सम्मान गरे ।’

त्यसअघि उद्योगका कर्मचारीहरुले ६४ दिनसम्म उद्योग बन्द गराएका थिए । फ्याक्ट्री चैत २९ गतेदेखि कर्मचारीहरुले बन्द गराएका थिए । उद्योगका महाप्रबन्धक गोपी न्यौपानेले राजीनामा दिएपछि कर्मचारीहरुले मंगलबार भुत मन्साए र बुधवारबाट उद्योग खोले । यस हिसाबले भूत मन्साउने काममा त्यहाँका कर्मचारी र ट्रेड युनियनको प्रत्यक्ष संलग्नता देखिन्छ ।

उद्योग परिसरमा माताको नाच देखाउने र भुत मन्साउने काम उद्योगका हितका लागि भएको अखिल नेपाल नेपाल औद्योगिक मजदुर संघले जनाएको छ । उद्योगमै काम गर्ने एक जना सुरक्षाकर्मीकी श्रीमतीलाई दुर्गा चढेपछि उद्योगको मुख्य मशिन र परिसरमा रहेको मन्दीरमा पुजा पाठ भएको संघका अध्यक्ष विशेश्वर पालले बताए । ‘भूत, प्रेतमा म विश्वास गर्दिनँ,’ पालले भने, ‘तर,उद्योगको राम्रोका लागि भन्दै पूजा र दुर्गा पाठ भएको हो ।’

तर, उद्योगका केही कर्मचारीले भने महाप्रबन्धकले राजीनामा दिएपछि उनैलाई लक्षित गरी उद्योगको गलत दोष हटेको भन्दै यस्तो गरिएको बताउँछन् । उद्योगका कतिपय कर्मचारीहरुले माताको पूजा आजाबाट सिमेन्ट उद्योगको भूत भगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

कतिपयले  महाप्रबन्धक न्यौपानेले राजीनामा गरेपछि उद्योगबाट भूत पन्छिएको भन्दै लान्छना पनि लगाएका छन् । तर, उद्योगमन्त्रीलाई राजीनामा बुझाएका तर स्वीकृत नभएका महाप्रबन्धक न्यौपानेले यसलाई आफूबिरुद्धको निकृष्ट राजनीति भनेका छन् । ‘म अघिल्लो सरकारले नियुक्त गरेको मान्छे हुँ, म छउन्जेल उद्योग चल्नै दिएनन् । उद्योगलाई चाहिने पूर्वाधार र लगानी पनि दिएनन्,’ न्यौपानेले भने, ‘सरकारी लगानीको उद्योग चल्नै नदिने बनाउने २१ औं शताब्दीमा भूतप्रेतात्माको पूजा आराधना गर्नुलाई म के भनूँ ।’

एक्काइसौं सताब्दीमा सरकारी उद्योगमै भूत मन्साउने विषय गम्भीर हो । राजीनामा दिएका महाप्रबन्धकलाई लक्षित गर्दै त्यसो भएको भए त्यो अक्ष्यम्य अपराध नै हो । उद्योगका अध्यक्ष केशवकुमार बस्नेतले फ्याक्ट्रीभित्रै रहेकी माताबाट उद्योगको प्ूजा गरिएको र त्यो कसैप्रति लक्ष्यित नभएको दाबी गरे । ‘माताले पहिल्यै यहाँ वास्तु नमिलाए उद्योग अप्ठ्यारोमा पर्छ भन्नु भएको रहेछ ।

पहिलेका महाप्रबन्धकलाई सो कुरा भन्दा मान्नुभएको रहेनछ,’ उनले भने । तर, महाप्रबन्धकले राजीनामा दिएपछि उद्योग गल्ने वातावरण बन्दै गएकाले पूजा गरिएको उनको दाबी छ । ‘उद्योग चलाउने निर्णय भएकै दिन पूजापाठ भयो । महाप्रबन्धकको पनि राजिनामा आयो,’ उनले भने ‘यो सबै संयोग भयो । पुजापाठ हो अनिष्ट नहोस् भनेर हो । फ्याक्ट्री केही भएको थिएन तर चल्न सकेको थिएन । तर किन नचलेको भन्ने जावाफ कसैसँग थिएन  ।’

प्रतिक्रिया दिनुहोस