घरमा बन्धक बनाइएका ओमप्रकाशको उद्धार

नेपालगन्ज, असार २२ गते । आफ्नै घरमा गत पाँच वर्षदेखि साङ्लोमा बाँधेर बन्धक बनाइएका बर्दिया गुलरिया –५ का एक मनोरोगी युवाको उद्धार गरेर मानवसेवा आश्रम नेपालगन्जले उपचार सुरु गरेको छ ।

मानवसेवा आश्रम नेपालगञ्जका संयोजक उर्विन सापकोटाका अनुसार गत ५–६ वर्षदेखि मनोसामाजिक समस्याबाट ग्रसित २७ वर्षीय ओमप्रकाश थारुको उद्धार गरेर उपचारका लागि आश्रममा ल्याइएको हो ।

उहाँले घरका सदस्यहरुको आर्थिक अभावका साथै अशिक्षाको कमीले गर्दा थारुलाई घरमै फलामे साङ्लोमा बाँधेर राखिएकोमा मानवसेवा आश्रमको उद्धार टोली उद्धारका लागि पुगेको थियो ।

मानवसेवा आश्रम नेपालगन्जका अनुसार गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, गुलरिया नगरपालिका –५ का वडा अध्यक्ष मुमबहादुर मल्ल, स्थानीय समाजसेवी कल्पना नेपाल तथा हरिप्रसाद चौधरी र स्थानीयहरुको रोहवरमा थारुलाई मानवसेवा आश्रम, नेपालगन्जमा ल्याइएको छ ।

मानवसेवा आश्रम नेपालगन्जका संयोजक सापकोटाले थारुलाई यहाँ ल्याएलगत्तै उहाँलाई मनोचिकित्सकसँग स्वास्थ्य परीक्षण गराएर सल्लाह बमोजिम औषधि उपचार सुरु गरिसकिएको जानकारी दिनुभयो ।

मनोरोगी थारुको उद्धार गरेर मानवआश्रममा ल्याएपछि उहाँका परिवारका सदस्यहरु पनि खुशी भएका छन् । उहाँका दाजु जयप्रकाश चौधरीले उपचार खर्च निकै महंगो पर्ने भएकाले घरमै बाँधेर राख्नुपर्ने बाध्यता आएको बताउनुभयो । अहिले मानवसेवा आश्रमले ल्याएर उपचार सुरु गरेकोमा खुशी लागेको उहाँले बताउनुभयो ।

थारुलाई आश्रममा ल्याएर चिकित्सकलाई जाँच गराएर औषधि दिन थालिएपछि उहाँको अवस्था सामान्य बन्दैगएको आश्रम सञ्चालकले जनाएका छन् । मानव सेवा आश्रमले सडक मानवहरुको मानवोचित व्यवस्थापनका निम्ति गत वर्ष २०७९ बैशाख १ गतेबाट नेपालगञ्ज उपमहानगरपालिकाको वडा १० मा घर भाडामा लिएर सेवा सञ्चालन गर्दैआएको छ ।

हाल सो आश्रममा ४ बालबालिका, ५ महिला, ३६ पुरुष गरी जम्मा ४५ जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडकआश्रित व्यक्तिहरु आश्रित छन् ।

प्रतिक्रिया दिनुहोस