कलाकारको गुनासो : आजकल मिडिया देख्दा बन्दुक तेर्स्याएझैँ लाग्छ (भिडिओ)

काठमाडौं । कलाकारहरु नेपाली पत्रकारिताको विश्वसनीयता कम हुँदै गएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित नेपाली चलचित्रमा मिडियाको प्रभाव अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले नेपाली सिने क्षेत्रमा कलम चलाउनेहरूले चलचित्र क्षेत्रका खोजमूलक समाचार लेख्न सक्नुपर्ने बताए ।

उनीहरूले चलचित्र क्षेत्रमा भएका विकृतिहरूका बारेमा पनि सिने पत्रकारहरूको कलम चलाउनुपर्ने बताए । उनीहरूले सानो गल्तीलाई पनि मलजल गरेर ठूलो बनाइदिने परिपाटीले आत्महत्यासम्मको बाटो रोज्नुपरेको कतिपय कलाकारले उल्लेख गरे ।

कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले मिडिया भन्ने बित्तिकै पछिल्लो समय आफूलाई बन्दुक तेर्साएको जस्तो हुने गरेको बताइन् ।

उनले कतिपय सञ्चारमाध्यमहरूले सानो गल्तीलाई मलजल गरेर ठूलो बनाइदिँदा कलाकारहरू आत्महत्याको बाटो रोज्नुपर्ने स्थितिसम्म
पुग्ने गरेको बताइन् ।

उनले भनिन्, ‘मिडिया भन्ने बित्तिकै पहिला त फ्रेण्ड्ली, रमाइलो लाग्थ्यो, अहिले त बन्दुक तेर्स्याए जस्तो लाग्छ । आजकाल म धेरै कम इन्टरभ्युमा जाने गर्छु, अहिलेको जमाना देखिहाल्नु भएको छ, सञ्जाल धेरै छ, मान्छे हो गल्ती त हुन्छ, तर त्यसलाई मलजल गरेर मर्न बाध्य गराइन्छ ।’

अर्की अभिनेत्री केकी अधिकारीले पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनीयता भए पनि पछिल्लो समय विश्वसनीयतामा कमी
आउने गरेको बताइन् । उनले श्रोत भनेर उल्लेख गरिए पनि कतिपय समाचार बिना श्रोत बनाइने गरेको बताइन् ।

उनले चलचित्र सम्बन्धी समाचार बनाउँदा, अन्तर्वार्ता लिँदा पूर्व तयारी हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘पत्रकारिता क्षेत्रको सबैभन्दा ठूलो कुरा भनेकै विश्वसनीयता हो । चलचित्र सम्बन्धी समाचार बनाउँदा, अन्तर्वार्ता लिँदा पूर्व तयारी गर्नुपर्छ, त्यसले धेरै दुर्घटना हुन्छ, आफ्नै सूचनाको श्रोत नहुने छ, त्यसमा जोड दिनुपर्छ । कपि पेस्ट कल्चरलाई रोक्नुपर्छ ।’

कार्यक्रममा बोल्दै चलचित्र कलकार संघका अध्यक्ष मोहन निरौलाले चलचित्रको समीक्षा गर्दा पूर्वाग्रही हुने गरेको बताउँदै यस्ता कुरामा यथार्थता पस्कनुपर्ने बताए ।

उनले महिला कलाकार र पुरुष कलाकारमाथि पनि हिंसाका घटनाहरू बढिरहेको बताए ।

महिला कलाकारमाथिका अभद्र व्यवहार बाहिर आउन नसकेकाले यस्ता घटनामा उनीहरूलाई सम्झाउन सके यस्ता घटनाहरू बाहिर आउने बताए ।

प्रतिक्रिया दिनुहोस