एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो ?

काठमाडौं, साउन ५ । झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको पाइएको छ ।

विमानस्थलबाट चेकजाँच र भन्सार पास भइसकेको अवस्थामा राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेपछि दुवै निकायको चर्को आलोचना भइरहेका बेला दुवै निकायका प्रमुख भने बिदामा बसेको पाइएको हो ।

अहिले विमानस्थल भन्सार कार्यालयका प्रमुखमा सहसचिव अरुण पोखरेल छन् । उनी १७ असारदेखि बिदामा छन् । उनले १७ भदौसम्मका लागि बिदा स्वीकृत गराएका छन् । ढाडमा समस्या आएको भन्दै दुई महिना लामो बिदामा बसेका पोखरेलले बिदाको जानकारी अर्थमन्त्री डा. प्रकाशशरण महत र भन्सार विभागको महानिर्देशकलाई पनि गराएका थिए ।

यस्तै, विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुखमा बिदामा थिए भन्सार र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुनचन्द ठकुरी छन् । उनी पनि मंगलबारदेखि नै बिदामा रहेको पाइएको छ ।

उनी बिदामा बसेकै दिन राजस्व अनुसन्धान विभागले सुन बरामद गरेको हो । उनले मंगलबारबाट लागू हुनेगरी उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट एकसाता लामो बिदा स्वीकृत गराएका थिए ।

उनी अब आगामी मंगलबार मात्रै कार्यालय उपस्थित हुनेछन् । उता, भन्सार विभागका अधिकृत सन्तोष चन्द र नासु कुमार ढकाललाई बिहीबार निलम्बनको सिफारिस भइसकेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस