तेह्र वर्षदेखि जङ्गलमा बास

राजन रावत हुम्ला, साउन २३ । एक दम्पती १३ वर्षदेखि जङ्गलमा बास बस्दै आएको पाइएको छ । गाउँमा भएको घर बर्खामा भत्किएपछि ती दम्पती जङ्गलमा झुपडी बनाएर बस्दै आएका हुन् ।

सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँको कलिवान फडेरा र च्यापु फडेरा जङ्गलमा बस्दै आउनुभएको हो । फडेरा दम्पतीले गाउँबाट एक घण्टा टाढाको जङ्गलमा झुपडी बनाएर बस्दै आएको बताउनुभयो । उमेरले उहाँहरू कलिवान ७४ वर्ष र च्यापु ६४ वर्षका हुनुहुन्छ ।

कलिवानले १३ वर्ष अगाडि उनापानी गाउँमा रहेको घर बर्खाको पानीले भत्काएपछि फेरि बनाउन नसक्ने भएका कारण जङ्गलमा झुपडी बनाएर बस्नुपरेको बताउनुभयो ।

“भएको खेतबारीमा खेतीपाती गर्न नसकिने अवस्था भयो । त्यसै कारण जङ्गलमा आएर बस्न थाल्यौँ,” उहाँले भन्नुभयो । उहाँहरूका एक जना छोरा भए पनि नौ वर्षदेखि नआएको गुनासो उहाँहरूको छ ।

छोरा पेमा फडेरा पनि चार वर्षसम्म भने उहाँहरूसँगै जङ्गलमै बस्नुभएको थियो । घरबाट निस्केको छोरा फेरि घरमा आउनुभएको छैन । छोरो कामका लागि भारत गएको जानकारी फडेरा दम्पतीले पाएको भए पनि हालसम्म सम्पर्क भने हुन सकेको छैन । श्रीमती च्यापुले श्रीमान् आँखा कम देख्ने भएका कारण घरको सम्पूर्ण काम आफैँले गर्नुपर्ने बताउनुभयो । गाउँले र आफन्तले उहाँहरूलाई गाउँमा फर्कनका लागि निकै आग्रह गरेको भए पनि सो जोडीले गाउँमा जान भने अस्वीकार गर्दै आएको छ ।

फडेरा दम्पतीलाई जङ्गलमा बास बस्नुपरेपछि दैनिक गुजारा चलाउने माध्यम भने नेपाल सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता भएको छ । पहिले कलिवान फडेराले मात्र सो भत्ता पाउने गरेकामा पाँच वर्षदेखि भने दुवै जना सामाजिक सुरक्षा भत्ता पाउँदै आउनुभएको छ । उहाँहरूका दम्पतीले वृद्धभत्ताबाट लुगाफाटो र घर खर्च चलाउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस