नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारत फिर्ता

बिर्तामोड, साउन २४ गते । बिर्तामोडमा नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ । राजस्थान घर बताउने उनीहरुलाई पक्राउ गरी भारत फर्काएको हो ।

मङ्गलबार दिउँसो सडक तथा पसलहरुमा विभिन्न बहाना बनाएर माग्दै हिँड्नेको सङ्ख्या बढेको सूचना प्राप्त भएपछि नगर प्रहरीको टोलीसहित खोजतलास गर्ने क्रममा उनीहरुको समूह नै फेला पारेको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताउनुभयो । बसपार्कको एक होटलमा डेरा गरी बसेको फेला पारेपछि उनीहरुलाई नगर प्रहरीले पक्राउ गरी अनारमनी प्रहरीको जिम्मा लगाएको थियो ।

पक्राउ परेकाहरु बसपार्कमा सुनीता शेर्माले सञ्चालन गर्दै आएको मौसम ताप्लेजुङ होटलमा ४ वटा कोठा भाडामा लिएर बस्दै आएको जनाइएको छ । उनीहरुले दैनिक एक हजार ८ सयका दरले भाडा तिर्दै आएका थिए । पक्राउ पर्नेहरु १२ जना बालबालिकासहित २४ जना मागेर गुजारा चलाउने थिए ।

६ महिनाको बच्चासहित नेपाल आएका उनीहरु प्राकृतिक विपत्तिका कारण आफूहरुले घरबार गुमाएकोले सहयोगको अपिल गरिएको कागज बनाएर माग्दै हिँड्ने गरेको पाइएको छ । बिर्तामोडमा चाडपर्व नजिकिएसँगै यस प्रकारका मागेर गुजारा चलाउनेहरुको भीड बढ्ने गरेको पाइएको नगरउपप्रमुख सङ्ग्रौलाले बताउनुभयो । पक्राउ गरिएका सबैलाई नगर प्रहरीको गाडीमा राखेर काँकरभिट्टाको मेची पुलसम्म छोडिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।

नगरपालिकाले जनसरोकारका विषयलाई ध्यानमा राख्दै बिर्तामोडमा हुने विभिन्न प्रकारका गतिविधिको कडाइका साथ अनुगमन गर्दै आएको नगर उपप्रमुख सङ्ग्रौलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस