सुर्तीजन्य पदार्थ प्लाष्टिकको खोलमा प्याकिङ गर्न नपाइने

काठमाडौं– सरकारले सूर्तीजन्य वस्तु (सूर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने व्यवस्था गरेको छ।

आन्तरिक राजस्व विभागले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत् यस्तो नियम ल्याएको हो। यो नियम २०८१ वैशाख १ गतेदेखि लागू हुनेछ।

सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ। नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानले १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ।’

सरकारको नियमअनुसार आयातकर्तालेसमेत नेपालभित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न नपाउने भएका छन्। उनीहरुको हकमा पैठारी गर्न इजाजत पाएका प्रतिष्ठानले त्यस्ता वस्तुको प्याकिङ सड्ने वस्तुमै गर्नुपर्ने गरी नियम ल्याइएको छ।

विभागले तोकिएको अवधिभित्रै सो प्रावधान लागू गर्नेगरी तयारीमा जुट्न सूर्ती उत्पादकहरुलाई सचेत गराएको छ। जैविक रुपमा सडेर जाने सामग्रीमा मात्रै यस्ता वस्तु प्याकिङ गर्न र पैठारीमासमेत यही नियम लागू हुने भन्दै यसको आवश्यक तयारीमा जुट्न प्रतिष्ठानहरुलाई सचेत गराएको हो। १ वैशाख २०८१ देखि यो प्रावधान कार्यान्वयन नगरेमा कानुन अनुसार कारबाही गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस