झापाकाे मेचीनगर र दमकबाट ब्राउन सुगरसहित २ जोडी पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु श्रीमानश्रीमती रहेका छन् ।

हिजो (बिहीबार) दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री मेचीनगर ८ की २१ वर्षीया मनिषा दनुवारलाई शंका लागि चेकजाँच गरेको थियो ।

उनीमाथि चेकजाँच गर्दा उनको साथबाट ३ ग्राम ब्राउनसुगर बरामद गरेसगै लागुऔषध बिक्री बितरणमा संलग्न निजको श्रीमान २१ वर्षीय अभय राजवंशीलाई समेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दम्पत्तिको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी, दमकमा बाट पनि प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित श्रीमानश्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमक ३ घर भई हाल दमक १ मा डेरा गरी बस्दै आएका २७ वर्षीय राजु बुढाथोकी र उनकी श्रीमती २८ वर्षीया सम्झना विश्वकर्मा (बुढाथोकी) रहेका छन् ।

लागुऔषध ब्राउनसुगर बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा बिहीबार दिउँसो १२ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।

उनीहरुमाथि चेकजाँच गर्दा १ ग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान र २ थान मोबाइल प्रहरीले बरामद गरेको थियो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस