छेकेन उमेरले पढ्ने रहरः ८० बर्षको उमेरमा कक्षा १२ को परीक्षा पास

काठमाडौं- रामेछापकी रत्नकुमारी सुनुवारले ८० बर्षको उमेरमा कक्षा १२ को परीक्षा पास गर्नु भएको छ । मंगलबार कक्षा १२ को परिक्षाको नतिजा आउँदा रत्नकुमारी पास भएपछि उहाँ अहिले सर्वत्र चर्चामा हुनुहुन्छ ।

रामेछापकी रत्नकुमारी सुनुवार उमेरले नातानातीना खेलाएर निवृत जीवन विताउने अधिकांश महिलाहरु भन्दा उहाँ फरक देखिनु भएको छ । नाती नातिनी खेलाएर दिन विताउने महिला भन्दा यस कारणले फरक देखिनु भयो की उहाँले ८० बर्षको उमेरमा कक्षा १२ को परीक्षा पास गर्नु भएको छ ।

कक्षा १२ माध्यमिक तहको परीक्षामा २ दशमलव ६४ जिपिए प्राप्त गरि उर्तिण हुनुभएकी सुनार यति बेला सबैको प्रेरणाको स्रोत बन्नु भएको छ । बानेश्वर वहुमुखी क्याम्पसमा अध्ययन गर्नुभएकी सुनुवारले मानवीकी संकायमा आमसञ्चार र ग्रामीण विकास विषय लिनुभएको थियो ।

अध्ययनको यो यात्रा यती मै सकिएको छैन । पढ्न उमेरले छेक्दैन भन्ने नेपाली आम भनाइलाइ चरितार्थ गर्ने स्वास्थ्यले साथ दिए स्नातक तह पनि पास गर्ने उहाँको धोको छ ।

रामेछाप जिल्लामै जन्मिनु र हुर्किनु भएकी सुनुवारको २० वर्षको उमेरमा विवाह भयो । घरधन्दा, खेतीपाती र सन्तानको लालनपालन गर्दै उमेर कटेकोले त्यस बेला पढ्न पाउनुभएन ।

गाउँले दैनिकीको ब्यस्तताले निरक्षर हुँदाको पिडाले यो सफलतासम्म ल्याएको उहाँको भनाइ छ । २०५७ सालमा काठमाडौं आएपछि २०५८ सालमा प्रौढ शिक्षाबाट आफ्नो अध्ययन यात्रा शुरु गर्नु भएको हो । त्यसपछि उहाँलाइ अध्ययनमा थप रुची बढ्दै गयो र काठमाण्डौ तिनकुनेको उत्प्रेरणा महिला माध्यामिक विद्यालयमा भर्ना हुनुभयो ।

नाती नातिनाका उमेरका बालबालिकासँग स्कुल जाँदाका तितामिठा अनुभव संगाल्दै उहाँले एसइइ परीक्षा पास गर्नुभयो । वानेश्वर बहुमुखी क्याम्पसले रत्नकुमारीलाइ १२ कक्षासम्म निशुल्क अध्ययन गर्ने ब्यवस्था मिलाइदियो र उहाँले पास पनि गर्नुभयो ।

यहि क्याम्पसमा स्नातक गर्न चाहे, निशुल्क पढाउन क्याम्पसका तयार रहेको प्राध्यापक डा घमन सिंह खड्काले बताउनु भयो । विद्यालय गएर विचमै पढाइ छोड्ने सयौं विद्यार्थीको लागि रत्नकुमारी प्रेरणाको श्रोत बन्ने भनाइ क्याम्पसको छ ।

प्रतिक्रिया दिनुहोस