ताप्लेजुङका किसानले भित्र्याउन थाले अलैँची

ताप्लेजुङका किसानले अलैँची भित्र्याउन थालेका छन् । बेँसीदेखि लेकाली क्षेत्रका किसानले लगाएको अलैँची टिपाइ गरेर घर भित्र्याउन थालेका हुन् ।
कालोसुनको उपनाम पाएको अलैँची ताप्लेजुङमा टिपाइ सुरु भएको छ । फक्ताङलुङ गाउँपालिका–६ का विर्ख लिम्बू लामो समयपछि अलैँचीको मूल्यमा सुधार आएसँगै उत्साहित छन् । उनको अलैँची बगान घरदेखि निकै टाढा पर्छ, त्यसैले केही समयसम्मलाई पुग्ने रासनपानी लिएर अलैँची टिप्न घरबाट निस्केका हुन् ।

अलैँची बगानमा टिप्ने, छराउने र सुकाउने काम सकाएर मात्र लिम्बू घर फर्किने योजनाका साथ अलैँची बगानमा बसेका हुन् । सोही गाउँका सुरेश फेम्बू पनि घर छोडेर अलैँची बगानमै बस्न थालेका छन् । उनी साँझ बिहान अलैँची बगानमै व्यस्त छन् । फेम्बूलाई दुई वटा कुरामा चिन्ता छ । पहिलो पाकेको अलैँची समयमै टिप्न सकिएन भने विभिन्न जनवारले खाइन्छ । त्यसैले अलैँची टिप्नका व्यस्तता बढाएको छ भने, अर्को अहिले अलैँचीको बजार मूल्यमा घट्ने पो हो कि भन्ने चिन्ताले गर्दा समेत फेम्बूलाई बगानमै बसेर छिट्टै टिप्न सकाउने योजनामा लागेका छन् ।

मेरिङदेन गाउँपालिका–५ नाल्बुका विमना लिम्बूले केही समय अगाडि आफ्नो परिवारको लागि मात्र खाना बनाउथिन् तर अहिले अलैँची टिपाइ सुरु भएसँगै खेतलाको लागि उनी बिहान खाजा बनाउ र खाना बनाउनमा व्यस्तता बढेको छ । छरछिमेकमा खेतला नपाइने भएकाले लिम्बूले अलैँची बगानमा धेरै टाढाबाट अलैँची टिप्ने मजदुर बोलाएकी छन् । अलैँची टिप्ने खेतलालाई बिहान खाजा दिएर बिहानको समयमा बगानमा अलैँची टिप्ने जाने गर्दछन् । बिहानको १० बजे खानखान समय हुन्छ । आँखा देखुञ्जेलसम्म बेलुका अलैँची बगानमै टिप्ने गर्दछन् । साँझ बिहान बगानमै बसेर अलैँची टिप्ने मजदुरलाई रु पाँच सयदेखि छ सय ५० ज्याला दिनुपर्दछ । लिम्बू बिहानदेखि बेलुकासम्म खेतालाको खाना खाजा बनाउनमा व्यस्तता बढेको हो ।

सिरिजङ्गा गाउँपालिका–६ मा मांखेका हर्क माबो कसरी आफ्नो अलैँची बगान छिटोभन्दा छिटो टिप्न सकाउने भन्ने योजनामा छन् । ढिलो टिपाइ भयो भने अहिलेको बजार मूल्य घट्ने हो कि भन्न चिन्ता लागिरहेको छ । त्यसैले झरी बाँदल नभनी उनी बगानै अलैँची टिप्नमा व्यस्त छन् । यी त केही प्रतिनिधि पात्र हुन् । अहिले ताप्लेजुङका किसान घरमा भेटिन मुस्किल भएको छ । पल्लो डाँडा ओल्लो डाँडामा रहेको अलैँची बगानमा हो हल्ला, गीत गाउँदै अलैँची बगानमा अलैँची टिप्नदै गरेको भेट्न सकिन्छ । घर नजिकै बगान हुने साँझमा घर फर्किन्छन्, भने घरदेखि धेरै टाढा बगान हुने साँझमा घर फर्किँदिनन् । उतै बगानमा पाल टाङ्गेर बस्ने गर्दछन् । दिन भर टिपेको अलैँचीको बेलुका ढुङ्गाबाट दाना छोडाउनुपर्दछ ।

अलैँची थन्क्याउने मौसम भएकाले अहिले किसान टिप्न, छोडाउन र सुकाउन व्यस्त बनेका छन् । कामको सिलसिलामा जिल्ला बाहिर रहेका तथा सहर पसेका किसान अलैँची पाक्न थालेपछि गाउँ फर्किएका छन् । हिजोआज गाउँमै रहेका र बाहिरबाट फर्किएका किसान अलैँची टिप्नमा व्यस्त बनेका हुन् ।

किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ । यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ ।

एक हजार आठ सयदेखिमाथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ ।
ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुनेगरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस