गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो

गोखरा- गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले बताए । कालिका भगवती मन्दिरको दसैँ घरमा नौ मानाको जमरा राखिएको छ । त्यस्तै गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको मूलपुरोहित भट्टराईले जानकारी दिए ।

वडादसैँको पहिलो दिन मूल दरबारको कैलास कोठाबाट गर्भगृह (पूजा कोठा) मा देवी भगवतीको सवारी गराउने र मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको हो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित रुपमा कालोबोका बलि दिने प्रचलन रहदै आएको छ । यसपटक दसैँ अवधिभर ३२ बोका, १२ भेडा, पाँच सुङ्गुर, एक सतारसहित १५ राँगो र नौ वटा कुखुरा बलि दिइने उनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस