महानवमी पर्व कसरी मनाइन्छ ? यस्तो छ धार्मिक महत्व

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवती (सिद्धिदात्री) को विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।
दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।पशुबलि नदिने र शाकाहारीहरूको भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मुला, काँक्रो र
जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन रहेको छ ।
आज धनधान्यकी देवी माता महालक्ष्मी देवीको पनि पूजा अर्चना गरिन्छ । आजको दिन शक्तिस्वरूपा सिद्धिदात्रीको पूजा गर्नाले सम्पूर्ण संसार नै जित्न सक्ने सिद्धता हासिल हुने र संसारमा केही कुरा पनि अगम्य नहुने मान्यता रहेको छ ।
आज बिहान हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यसका साथै आज दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ ।
बलिको अर्थ हो त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । तसर्थ कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र
हाँसलाई मानिन्छ ।यी प्रतिनिधि पात्रहरूको प्रतीकस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउ अर्थात् त्यागौँ भन्ने शास्त्रीय मान्यता हो ।
तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थालेपछि दसैँमा बलिको सुरुवात भएको हो ।

प्रतिक्रिया दिनुहोस