तिहारका लागि करिब ४० लाख माला चाहिने अनुमान, यो वर्ष सयपत्रीको मूल्य बढ्ने

काठमाडौ। यो वर्ष तिहारका लागि करिब ४० लाख माला चाहिने भएको छ। नेपाल फ्लोरिकल्चर एसोसिएसनले सयपत्री, मखमली गोदावारी तथा मिक्स गरी करिब ४० लाख माला खपत हुने जनाएको छ।

मालामध्ये एसोसिएसनले ३५ लाख सयपत्री फूलको माला खपत हुने जनाएको छ। जसमा ८० देखि ८५ प्रतिशत माला आन्तरिक उत्पादनबाटै पूर्ति हुने र १५ देखि २० प्रतिशत अपुग हुने एसोसिएसनले जनाएको छ। यस्तै ५ लाख मखमली, २० हजार गोदावारी तथा मिक्स ३० हजार माला पनि खपत हुने एसोसिएसनको भनाई छ। कूल ४० लाख ५० हजार माला खपत हुनेछ।

तिहार अगाडि नै सयपत्री फूल फुलिसकेकोले आन्तरिक उत्पादनले माग अनुसार आपूर्ति हुन नसक्ने देखिएको हो। सयपत्री फूलको माग ग्रामीण क्षेत्रमा शतप्रतिशत आन्तरिक उत्पादनले नै धान्ने गरे तापनि शहरी क्षेत्रलाई आयात गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ।

‘आन्तरिक उत्पादनले मात्र पुग्दैन। यस वर्ष तिहार ढिला भएकाले नेपालमा उत्पादन भएका सयपत्री फूल सुक्न थालेको छ। जसकारण १५ दखि २० प्रतिशत सयपत्री फूल आयात गर्नुपर्ने देखिएको छ। तिहारमा यस वर्ष ३५ लाखको हाराहारीमा सयपत्री फूलको माला खपत हुने अनुमान छ। त्यसको करिब ८५ प्रतिशत माग आन्तरिक उत्पादनले नै धान्छ,’ एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बिजमाण्डूलाई भने।

एसोसिएसनले यो वर्ष तिहारमा सयपत्री फूल ३१ करोडको कारोबार हुने अनुमान गरेको छ।

तिहारमा सयपत्रीसँगै मखमली फूलको माला पनि अत्यधिक रुचाइन्छ। मखमली साढे चार लाखदेखि ५ लाखसम्म माला बिक्री हुने अनुमान छ। जसमध्ये डेढ लाख मखमलीको माला विदेश समेत निर्यात हुनेछ। मखमलीको माग आन्तरिक उत्पादनले नै धान्ने भएकाले आयात गर्नुपर्ने अवस्था नरहेको पनि तामाङले बताए।

‘हामी मखमली निर्यात गर्छौं। आन्तरिक उत्पादन नै प्रयाप्त भएकाले आयात गर्नुपर्ने अवस्था छैन। यस वर्ष मखमलीको कारोबार गत वर्षकै मूल्यमा हुन्छ,’ अध्यक्ष तामाङले भने।

यो वर्ष मखमलीको होलसेल मूल्य ४५ रुपैयाँ र खुद्रा मूल्य ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म हुन सक्ने पनि एसोसिएसनको अनुमान छ।

पछिल्लो समय तिहारमा गोदावारी तथा मिक्स मालाको फेसन पनि बढेको छ। यस वर्ष तिहारमा २० हजार गोदावारीको माला तथा ३० हजार मिक्स (गुलाब, सयपत्री, गोदावारी) मालाको बिक्री हुने अनुमान छ।

तिहारलाई चाहिने फूल तथा माला भाइटिकाको पाँच दिन अघिबाट बजारमा आउने एसोसिएसनले जनाएको छ। पछिल्लो समय सयपत्री फूलको व्यावसायिक उत्पादन सातै प्रदेशमा भइरहेको छ। प्रदेश सरकारहरुले व्यावसायिक फूल खेतीमा लगानी गर्न थालेपछि उत्पादन बढ्न थालेको एसोसिएसनले जनाएको छ।

यस्तै सरकारले पुष्प व्यवसायमा पनि भ्याट लगाउँदा यो वर्ष सयपत्री फूलको मालाको मूल्य बढ्ने एसोसिएसनले जनाएको छ। सरकारले फूलमा पनि भ्याट लगाउँदा मूल्य सयपत्रीको मूल्य २५ रुपैयाँसम्म बढ्न सक्ने एसोसिएसनको भनाई छ।

प्रतिक्रिया दिनुहोस