ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ ।
माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उहाँले भ्रष्टाचार विरोधी र सुशासन प्रवद्र्धनको अभियान यो सरकार नरोकिएको बताउनुभयो ।

“सरकारले सुशासनको पक्ष र भ्रष्टाचारका विरुद्ध अभियान थालनी गरेको छ । अहिले पनि अभियान रोकिएको छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भ्रष्टाचारका गम्भीर फाइल खोलेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाउने तयारीमा छौँ ।” उहाँले भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
“नक्कली भुटानी शरणार्थीलगायत भ्रष्टाचार र अनियमितताका घटनालाई अनुसन्धान गरी एक चरणमा पु¥याइएको छ । नेपालको इतिहासमा यो स्तरको भ्रष्टाचारविरुद्धको अभियान कहिल्यै पनि चलेको थिएन”

, प्रधानमन्त्री दाहालले भन्नुभयो, “पहिलो पटक माओवादी केन्द्रको नेतृत्वमा यो आन्दोलन चलेसँगै सफलताको उचाइमा पुगेको छ । अब सुशासनको अर्को नयाँ अभियानतर्फ प्रवेश गरिन्छ ।” मिटरब्याज र नागरिकता समस्या समाधान, विदेशमा रहेका र अनौपचारिक तथा स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी सामाजिक न्यायको प्रक्रियालाई अगाडि बढाइएको उल्लेख गर्दै उहाँले सामाजिक न्याय र सुशासनका क्षेत्रमा धेरै काम भएको जानकारी दिनुभयो ।

मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सत्तापक्ष, प्रतिपक्ष, अर्थतन्त्रका विज्ञ, निजी क्षेत्रका साथै सरोकारवालासँग बृहत् अन्तक्र्रिया गरेर समाधानको प्रयत्न अगाडि बढाइएको प्रधानमन्त्री दाहालले बताउनुभयो । पहिलो वर्ष सेवा प्रवाहमा सुधारको थालनी गरेको सरकारले निर्णायक कामको सुरुआत गरेको उहाँको भनाइ थियो ।
“यसअघि ससाना काम भए, अब ठूल्ठूला परियोजना निर्माणको थालनी गरिनेछ”, प्रधानमन्त्रीले भन्नुभयो । योसँगै कर्णाली चिसापानी, बूढीगण्डकीलगायत ठूला परियोजना निर्माण सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

आज मात्रै बसेको मन्त्रिपरिषद् बैठकबाट बूढीगण्डकी आयोजनाका सम्बन्धमा महत्त्वपूर्ण निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उक्त आयोजनाको छिट्टै शिलान्यास हुने विश्वास दिलाउनुभयो । आफ्नो विदेश भ्रमणबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको गौरव बढेको उहाँको भनाइ थियो ।।

प्रतिक्रिया दिनुहोस