सूचना प्रविधिको विकास र प्रयोग उच्च प्राथमिकतामा : मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार भएको उल्लेख गर्दै भन्नुभयो, “सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइभर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्ने तर्फ कम्पनीका कार्यक्रम परिलक्षित छन् ।”

उहाँले टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवालाई नमुना दूरसञ्चार सेवाका रुपमा विकास गर्नका लागि यस वर्ष १९ जिल्लालाई छनोट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार, सेवाको वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “सबै राजमार्गमा पहुँच र गुणस्तरीय सेवा पु¥याउने विषयलाई कार्यक्रममा राखिएको छ । यस वर्षदेखि सस्तो दरमा इन्टरनेटको अन्तर्राष्ट्रिय ब्याण्डविथ सेवा खरिद भएको छ ।” साथै उहाँले हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमिकमजोरीमा सुधार गरी थप कार्ययोजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

यसबाहेक कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्थाअनुसार कम्पनीले आगामी दिनमा लिने पहलमा सुक्ष्म रुपमा अध्ययन गरेर बजारको अवस्था र आगामी दिनमा आइपर्ने कुरालाई ध्यानमा राखी प्रविधि, व्यापार, आर्थिक र सञ्चालन मोडेलबारे दीर्घकालीन व्यावसायिक योजना तयार गर्न उहाँले आग्रह गर्नुभयो ।

मन्त्री शर्माले भन्नुभयो, “समग्र दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीतिगत र प्रशासनिक दुबै खालका काम अघि बढाइएको छ । लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि एनसेलको शेयर खरिद बिक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिनेलगायतका काम सरकारले गरेको छ ।” यस वर्ष मात्रै नयाँ फ्रिक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी कार्यान्वयनमा ल्याएको जानकारी गराउँदै उहाँले अब जतिसक्दो चाँडो डिजिटलाइजेसनमा जानुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस