बच्चा जन्माउने कुराले नायिका नम्रता सापकोटा भाइरल, यस्तो रहेछ उनको इच्छा

अभिनेत्री नम्रता सापकोटाले आफूलाई बिहे नगरीकनै बच्चा जन्माउने चाहना रहेको बताएकी छन् । अबको तीन-चार वर्षमा विवाह नभए बच्चा जन्माउने उनको योजना छ । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेकी छन्, ‘मलाई बिहेभन्दा पनि बच्चा जन्माउन चाहिँ एकदमै मन लागेको छ । भोली समयले के मोड लिन्छ भन्न सक्दिनँ तर म बच्चा चाहिँ अवश्य पनि जन्माउँछु ।’

अहिले सिंगल मदरले पनि आफ्नो बच्चालाई नागरिकता दिन पाउने कुरा कानुनमै उल्लेख भएकाले आफ्नो पनि योजना रहेको उनी बताउँछन् । सबै मिलेर समाजलाई परिवर्तन गर्दै लैजानु पर्ने बताउँदै नम्रता अगाडि भन्छिन्, ‘म अहिले नै विवाह गर्दिनँ तर म बच्चा जन्माउन चाहिँ चाहन्छु । तीन-चार वर्षमा बिहे भएन भने म बच्चा जन्माउँछु होला । यो कुरा मेरो आमा-बुबालाई पनि थाहा छ ।’

भगवानले छोरी मान्छेलाई आमा बन्ने बरदान दिएका कारण भविष्यमा बिहे नभए पनि बच्चा जन्माउने उनको भनाई छ । अहिले बच्चा जन्माउन धेरै टेकनिक भएकोले श्रीमान-श्रीमती नै हुनु नपर्ने उनी बताउँछिन् । उनले आफू विवाहको विरोधी नभएको पनि बताइन् । तर, दबाबमा बिहे गर्नु नहुने उनको तर्क छ । आफूले सकारात्मक व्यक्ति नभेटेकाले बिहे नगरेको नम्रता बताउँछिन् ।

गत वर्ष फिल्म क्षेत्रमा नेपोटिज्म रहेको धारणा राखेपछि विवादमा समेत तानिएकी उनले फिल्म क्षेत्रमा ग्रुपिज्म र नेपोटिज्म दुवै रहेको बताएकी छन् । उनी भन्छिन्, ‘मैले यो विषयमा बोल्दा कतिपयले फिल्म क्षेत्रमा नेपोटिज्म छैन ग्रुपिज्म छ भन्नु भयो । तर, यसमा केही फरक छैन । नेपाली फिल्मको इतिहास त्यति लामो नभए पनि विस्तारै ग्रुपिज्म र नेपोटिज्मको सुरुवात भएको छ ।’

प्रतिक्रिया दिनुहोस