काठमाडौं :नाबालिग गायिकामाथि कर णीको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन्।
जिल्ला अदालत तनहुँले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्यावसायी उच्च अदालत पुगेका हुन्।
शाहका कानुन व्यवसायी निवेदन लिएर मंगलबार उच्च अदालत पोखरा आएको उप-रजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए। जिल्ला अदालत तनहुँले गरेको आदेश बेरीतको रहेको भन्दै शाहले तारेखमा रिहा गर्न माग गरेका उनले बताए ।
‘पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी पाऊँ भनेर यहाँ निवेदन परेको छ,’ सूचना अधिकारी आचार्यले भने ।
अब उच्च अदालत पोखरामा जिल्ला अदालत तनहुँले गरेको आदेश ठीक हो वा होइन भन्ने विषयमा बहस हुने आचार्यले जानकारी दिए । ‘अब यस विषयमा फेरि यहाँ बहस हुन्छ । त्यसपछि तनहुँको आदेश ठीक हो वा तारेखमा छोड्नुपर्ने हो, आदेश हुन्छ,’ उनले भने ।
‘तनहुँ जिल्ला अदालतले पुर्पक्षको लागि शाहलाई थुनामा पठाउन आदेश गरेको थियो। त्यो आदेश बदर गरी पाउँ भनेर यहाँ निवेदन परेको हो,’ आचार्यले भने, ‘दर्ता भएको छ।’
फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम उच्च अदालतमा शाहका कानुन व्यवसायीले निवेदन दिएका हुन्।
चेत १० गते बिहीबार उनलाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो।
मतियारका अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशी एक लाख धरौटी बुझाएर छुटेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम् १४ वर्ष कैद सजायको माग गरेको थियो।