एक महिलाले किनेको २२ लाख रुपैयाँको झोला, किन्ने प्रक्रिया नपुगेपछि जलाइने !

एजेन्सी । अष्ट्रेलियाकी एक महिलाले आयात गरेको २६ हजार अष्ट्रेलियन डलर अर्थात झण्डै २२ लाख रुपैयाँ मूल्य पर्ने हाते झोला जलाइने भएको छ । गोहीको छालाबाट बनेको उक्त झोला किन्ने प्रक्रिया नपुगेपछि जलाइने भएको बिबिसीले जनाएको छ।

फ्रान्सस्थित सेन्ट लरेन्ट बुटिकबाट ल्याइएको विलासी झोला पर्थबाट अष्ट्रेलियाली सीमा सुरक्षा बलका सदस्यले जफत गरेका थिए । गोहीको छालाबाट निर्मित सामानहरू अष्ट्रेलियामा आयात गर्न पाइने भए पनि पसलेहरूले ७० अष्ट्रेलियाली डलर तिरी अनुमति लिनुपर्ने हुन्छ।

अष्ट्रेलियाका वातावरणमन्त्रीले आयात गर्न प्रक्रिया पुर्‍याउनुपर्ने कुराका लागि पछिल्लो घटना एउटा महंगो घटनाको रुपमा अर्थ लगाएका छन् ।

ती महिलाले २६,३१३ अष्ट्रेलियाली डलर अर्थात झण्डै २२ लाख रुपैयाँ घाटा बेहोर्नुपर्ने भएपछि अष्ट्रेलियाको कृषि, जल तथा वातावरण मन्त्रालयले थप कदम नचाल्ने निर्णय गरेको छ।

अष्ट्रेलियामा वन्यजन्तुसँग सम्बन्धित व्यापारमा संलग्न भएको पाइएमा अधिकतम १० वर्ष जेल सजाय भोग्नुपर्ने र २ लाख २२ हजार अष्ट्रेलियाली डलर जरिवाना तिर्नुपर्ने व्यवस्था छ।

गोहीका छालाबाट निर्मित सामानलाई अस्ट्रेलियाले अनुमति दिए पनि सङ्कटापन्न प्रजातिहरूको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी साईटिस सन्धिअन्तर्गत कडा नियमन गरिन्छ।

प्रतिक्रिया दिनुहोस