पाकिस्तानमा विश्वविद्यालयका दुई प्राध्यापक माथि यौन दुर्व्यवहारको आरोप

डेरा गाजी खान— पाकिस्तानको पञ्जाब, डेरा गाजी खानको गाजी विश्वविद्यालयका भौतिकशास्त्रका दुई शिक्षकलाई एक युवती छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको द न्यूज इन्टरनेसनलले उल्लेख गरेको छ।

द न्यूज इन्टरनेशनल पाकिस्तानको अंग्रेजी भाषाको अखबार हो। पीडित युवतीले भाइरल भिडियोमा दुई शिक्षकले आफूलाई रातभर होस्टेलमा राखेको आरोप लगाएकी छन् । ‘अहिले दुवै शिक्षकले मेरी कान्छी बहिनीलाई ब्ल्याकमेल गरिरहेका छन्’, उनले सम्बन्धित प्राध्यापकलाई कारबाही नगरे आफूले आत्मदाह गर्ने बताइन् ।

द न्यूज इन्टरनेशनलका अनुसार शिक्षकहरूमाथि लगाइएको आरोपको जवाफ दिँदै गाजी विश्वविद्यालयका प्रवक्ता शोएब रजाले प्रसारण भइरहेको भिडियो पुरानो भएको र पीडितको उजुरीको आधारमा कारबाही गरिएको बताए।

विश्वविद्यालयको ट्विटरमा लेखिएको छ, ‘सामाजिक सञ्जालमा एक छात्राको भाइरल भिडियोको सम्बन्धमा, सबैलाई जानकारी गराइन्छ कि यो भिडियो चार महिना पुरानो हो र महिला विद्यार्थीको अनुरोधमा अनुसन्धान गरिएको थियो। जसका कारण सम्बन्धित शिक्षक निलम्बित भएका छन् ।’

द न्युज इन्टरनेशनलका अनुसार दुई प्रोफेसर डा जफर वजिर र डा खालिद महमूद उर रहमानलाई मे ५, २०२३ मा निलम्बन गरिएको घोषणा गर्दै एउटा सूचनाको सार्वजनिक गरेको थियो।

विज्ञप्तिमा थप भनिएको छ, “यो भिडियो कथनलाई हाल विश्वविद्यालयका ती थोरै शिक्षकहरूले आफ्नो स्वार्थका लागि सामाजिक सञ्जालमा प्रयोग गरिरहेका छन्, जसको विरुद्ध विश्वविद्यालयमा अनियमितताका मुद्दा चलिरहेको छ।

‘विश्वविद्यालयको प्रतिष्ठामा आँच पु¥याउन यस्तो अवसरमा उनले यो भिडियो भाइरल बनाएको हो । अहिले विश्वविद्यालय भर्ना बढिरहेको बेला गाजी विश्वविद्यालयका सबै अध्यापन तथा अन्य कामहरु सुचारु रुपमा चलिरहेका छन्’– एक सूचनामा भनिएको छ ।

विश्वविद्यालयको प्रतिष्ठालाई अनावश्यक रूपमा कलंकित गर्न चाहने यस्ता नकारात्मक तत्वहरू विरुद्ध कानुनी कारबाही गर्ने समय आएको पनि सूचनामा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस