लकडाउनमा सरकारले चर्च खोल्न नदिएपछि पादरीले चर्चलाई नै स्ट्रिप क्लव बनाइदिए

काठमाडौं। अमेरिकाको क्यालिफोर्नियामा कोरोनाभाइरस महामारीका कारण पुनः लकडाउन लागू गरिएको छ । तर, अहिलेको लकडाउनमा केही खास स्थान खोल्न अनुमति दिइएको छ । पेट्रोल स्टेशन, सुपरमार्केटसँगै सरकारले स्ट्रिप क्लव समेत खोल्न अनुमति दिएको छ तर चर्च खोल्न अनुमति दिएको छैन । अश्लील नृत्य हुने स्ट्रिप क्लवसमेत खोल्न दिएर चर्च खोल्न रोक लगाइएपछि यहाँका चर्चले यसको विरोध गर्न अनौठो तरिका निकालेका छन् ।

डिआइएसआरएनको रिपोर्टअनुसार क्यालिफोर्नियाका २ ठूला चर्चहरुले सरकारको निर्णयलाई चुनौती दिँदै आफूलाई स्ट्रिप क्लव घोषित गरेका छन् । सान डिएगोमा रहेका गडस्पिक क्यालभेरी चापेल र अभेकन चर्चले आफैंलाई स्ट्रिप क्लव घोषित गरेका हुन् । चर्चको रुपमा रहँदा बन्द रहनुपरेका यी २ स्थान सरकारको नियमअनुसार खोल्न पाइनेछ किनकि सरकारले स्ट्रिप क्लव खोल्न प्रतिबन्ध लगाएको छैन । अभेकन चर्चका पादरीले इन्स्टाग्राममा लेखेका छन् ‘स्ट्रिप क्लव लकडाउनको समयमा खोल्ने अनुमति छ तर चर्च खोल्न अनुमति छैन । त्यसैले हामीले निर्णय गरेका छौं कि हामी पनि पारिवारिक स्ट्रिप क्लव बन्नेछौं ।’

गडस्पिक चर्चका पादरीले पनि आफैंलाई स्ट्रिप क्लव भन्दै चर्च बन्द गर्न अस्वीकार गरेका छन् । यो चर्चका पादरीले आफ्नो सन्देशमा सरकारमाथि आरोप लगाउँदै भनेका छन् ‘वृद्धहरु एक्लोपनसँग जुधिरहेका छन् । तपाइँ परिवारका सदस्यको अन्तिम संस्कारमा जान सक्नुहुन्न । चीजहरु खतरनाक भइरहेका छन् र यो कठिन समयमा हामी साथमा हुनु जरुरी छ तर सरकारले अनौठो निर्णय गर्दै चर्च बन्द राखेको छ ।’ सर्वोच्च अदालतले यस विषयमा जाँच गरिरहेको छ र स्ट्रिप क्लव र चर्च दुवैलाई बन्द राख्ने वा दुवैलाई खुल्न दिने भन्ने विषयमा विचार गर्दैछ ।

प्रतिक्रिया दिनुहोस